चितवन । भरतपुर -१७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । हत्या आरोपमा भरतपुर-२१ का गंगाधर ढकाल भरतपुर-२० चनौलीबाट पक्राउ परेका हुन् ।
उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही हुन् । भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने भनेर खबर गरेपछि गंगाधर उनलाई लिन काठमाडौं पुगेका थिए । गंगाधरको मोटरसाइकलमा चितवन आएर उनीहरु होटलमा बसेका थिए ।
भरतले बोकेर ल्याएको झोला भरतपुर-११ शारदानगरस्थित माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए । खाजासहित अत्यधिक रक्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए ।
पिसाव फेर्ने बहानामा मोटरसाइकलबाट झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गोली हानेर हत्या गरी कुलोमा फालेर भागेकाे प्रहरीको भनाइ छ । गंगाधारले हत्यामा प्रयोग भएको एसएमजी बन्दुक बीसहजारी ताल गेट नजिक फालेकाे एसपी ओमप्रसाद अधिकारीले बताए ।
२ गते भरत ग्लोबल बैंकको खाली चेक लिएर आएपछि गंगाधारले १ लाख आफूले राखेर श्रीमतीलाई ६ लाख र बुबालाई २ लाख दिएका थिए । मृतक ३६ वर्षीय भरत गुरुङ धादिङ नीलकण्ठ १३ का हुन् ।

Leave a Reply