काठमाडौं । दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति समर्थन जनाएका छन् । यो सरकार दुई वर्ष निर्वाध चल्नुपर्ने उनको धारणा छ ।
खनालले एमाले संसदीय दलका सबै सदस्यहरूलाई ‘कुनै अलमल र आक्रोशबाट प्रभावित नभइकन’ देउवा सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेका छन् ।
खनालको नाम र हस्ताक्षरसहित आजैको मितिमा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा रहनेछ ।’
सकेसम्म पार्टीले सर्वसम्मत रूपबाटै देउवालाई विश्वासको मत दिनुपर्ने खनालको राय छ । त्यो भएन भने विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गर्नुपर्ने उनले बताएका छन् ।
उनी थप्छन्, ‘लोकतान्त्रिक आन्दोलनका सहयोग देउवाको नेतृत्वमा बनेको सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ । यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थिहरुको साझा सरकार बन्नुपर्छ ।’
वरिष्ठ नेता खनाल स्वास्थ्यमा समस्या आएपछि दिल्लीमा उपचारका लागि गएका थिए । उनको मिर्गौला फेल भएको छ ।



Leave a Reply