काठमाडौं । निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) भित्र लाइनमा बसेका सर्वसाधारणलाई खोप सकिएको भनि फिर्ता गराएर पहुँचवालालाई अस्पताल हाताभित्रै लुकिछिपी खोप लगाइने गरेको खुलासा भएको छ । शुक्रबार अपरान्ह चार बजेको समयमा अस्पतालले खोप सकिएको जानकारी गराउन प्रहरीलाई आग्रह गरेपछि लाइनमा बसेकाहरु फिर्ता भइरहेका बेला भित्र यस्तो बदमासी भएको हो ।
अस्पतालभित्र पहुँचका आधारमा लुकिछिपी खोप लगाइरहेको दृष्य एक युवा टोलीले भिडियोमा कैद गरेको छ । भिडियो सार्वजनिक भएपछि र हल्लाखल्ली मच्चिएपछि महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपीसहित दुई जना इन्सपेक्टरको टोलीले हस्तक्षेप गरेको थियो । लुकिछिपी खोप लगाएको भनेर बिरोध गर्नेलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले खोप लगाउने कार्यमा संलग्न एक कर्मचारी, एक सुरक्षा गार्ड गरी दुई जना र विरोध गर्ने चार युवालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक अधिकारीका अनुसार अस्पतालका एक लेखा अधिकृतलाई पनि नियन्त्रणमा लिइएको थियो ।
‘निजामती कर्मचारी अस्पतालले यस्तो बदमासी गरेको देखेपछि दुवै पक्षलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने । विरोध गर्ने युवाहरुलाई छोडिसकिएको उनले जानकारी दिए ।
ती प्रहरीका अनुसार चार सय तीन जना खोप लगाउनका लागि लाईनमा थिए । उनी भन्छन्, ‘खोप सकियो भनेर अस्तालले भनेपछि हामीले बिन्ती गरेर लाइनमा बसेकालाई फिर्ता गरायौं । तर एक्कासी अस्पताल भित्रै खोप लगाउने काम भइरहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएर रोकेका छौं ।’
यो समस्या मिलाइदिनुपर्यो भनेर काठमाडौं महानगरपालिका र अस्पताल प्रशासनबाट फोनमा दवाव आइरहेको उनले सुनाए । यसलाई आवश्यक छलफल गरेर मात्र टुंग्याउने उनको भनाइ छ ।
प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएपछि अस्पतालका कर्मचारीले उनीहरुलाई छोडिदिनुपर्यो भनेर प्रहरीसँग हारगुहार गरेका थिए । त्यति नै बेला महानगरपालिका र अस्पताल निर्देशकले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डीएसपीलाई समेत फोन गरेर पक्राउ परेका व्यक्तिलाई छोड्न आग्रह गरेका थिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. बिधान निधी पौडेलले भने खोप लगाउन छुटेका कर्मचारीले लगाएको नेपाल प्रेससँग बताए । सेवाग्राहीलाई खोप सकियो भनेर अस्पतालका कर्मचारीले मात्र लगाउन मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘बाहिर लाइनमा चार सयदेखि पाँच सय थिए । तर अस्पतालसँग ४० देखि ५० जति खोप मात्र भएपछि कसलाई लगाउनु कसलाई नलगाउनु ? यो त निजामती कर्मचारी अस्पताल पनि हो नि । त्यसैले निजामती कर्मचारीलाई प्राथमिकतामा राख्नुपरिहाल्यो नि ।’
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार साँझ नै एक विज्ञप्ति जारी गर्दै खोप सकिएकाले खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी गराएको थियो । साउन २ गते शनिबारसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।
खोप केन्द्रका कर्मचारीले लाइनमा बसेका सर्वसाधारणलाई सकियो भनेर घरमा लैजाने,आफन्त र पहुँचवालाको घर घरमै लगेर खोप लगाइदिने तथा कतिपयले पैसा लिएर खोप दिने गरेको समेत गुनासो आउन थालेका छन् । सिभिल अस्पतालको यो प्रकरण त सर्वसाधारणले तत्कालै प्रतिवाद गरेर सार्वजनिक भएको छ । तर हजारौं डोज खोप लुकाएर अन्यत्रै लगाउन थालिएको छ ।

Leave a Reply