‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल समूहका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले एमाले कार्यदलबीच भएको सहमतिलाई व्यक्तिगत सहमतिको संज्ञा दिएका छन् । कुनै पनि हालतमा त्यो सहमति नस्वीकार्ने भन्दै राईले आफूहरूको समानान्तर गतिविधि कायम नै रहने प्रष्ट्याए । नेपाल प्रेससँग कुरा गर्दै नेता राईले सहमतिमा हस्ताक्षर गर्ने नेताहरू केपी ओली गुटमा प्रवेशका लागि सेफ ल्याण्डिङ मात्र खोजेकोले त्यो उनीहरूको व्यक्तिगत सहमति भएको दावी गरे । राईसँगको कुराकानी नेपाल टकमाः

हिजो कार्यदलमा सहमति भयो अब त एकताको बाटो खुल्यो नि हैन ?

हामी हिजोको सहमति मान्दैनौं । पार्टीमा केपी ओलीले अराजकता शुरू गरेपछि हामीले जुन असहमतिका साथ समानान्तर कमिटी बनाएर विद्रोह थालेका थियौं । त्यो कुनै पनि कुरा सहमति भएको छैन । पार्टी यथार्थमा जेठ २ फर्काइएको छैन । नेकपाकालीन नेता र अस्ति थपेका माओवादीका नेताहरूलाई हामीले नस्वीकार्दा नस्वीकार्दै पनि हामीसहित बसेर मान्यता दिने भन्ने छ । त्यसलाई हामी स्वीकार्दिनौं ।

जेठ २ फर्किन्छौं त भनियो नि ?

यसको सन्दर्भमा नेतृत्व (माधव कमरेड)ले नै पनि बोलिसक्नुभएको छ । राष्ट्रपतिसँग मिलेर केपी ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र कागजको खोस्टो बनाउने काम गरे । त्यसलाई हामीले प्रतिगमन भनेका छौं । त्यो सच्याउने प्रतिबद्धता खोजेका थियौं । त्यसमा केही बोलिएन । कम्तीमा अदालतले त्यसको फैसला गर्नुपर्छ । अहिले त न केपी ओलीको प्रतिबद्धता आएको छ, न त अदालतको फैसला नै ।

सबै सँगै बसेर छलफल गरी समाधान खोज्दा हुन्न ?

सरकारको हरेक काम स्वेच्छाचारी छ । ओलीले पार्टीको सल्लाह नै खोजेका छैनन्चा÷हँदैनन् । राजनीति नियुक्ति, मन्त्री नियुक्ति आफूखुशी गरिएको छ । गलत र विवादित मान्छेमात्र ल्याइएको छ । यस्तो अवस्थामा कसरी समाधान हुन्छ ।

माधव नेपालसँगको पद बाँडफाँड नमिलेर पो रोकियो कि ?

पक्षपात ढंगले पार्टीमा आफ्ना मान्छेलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी दिने सन्दर्भमा प्रदेश, जिल्ला, इच्चार्जहरू एकलौटी ढंगले बनाइएका छन् । कतिपय महत्वपूर्ण निर्णयमा दुई नेताको हस्ताक्षर हुनुपर्छ भनेका हौं । त्यो हुँदा सन्तुलन हुन्छ । कसैबाट एकलौटी निर्णय हुन पाउँदैन । त्यो विषयमा केही बोलिएको छैन ।

तपाईंकै पक्षको कार्यदलले पनि सहमतिमा हस्ताक्षर त गर्‍यो नि ! अब नस्वीकार्ने ?

हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि ! कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो ।

अब के गर्नुहुन्छ त तपाईंहरू ?

हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं ।

Comments

One response to “‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’”

  1. पारिजात Avatar
    पारिजात

    राजेन्द्र राईको हिक्मत भए आगामी महाधिवेशनमा अध्यक्ष लडे भैहाल्यो नि ! आफ्ना टाट्नामा घाँस-कूँडो हुँदाहुँदै अर्काको टाट्नामा लम्कन नपाउनुको पीडा ! बिचरा…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *