निर्वाचन आयोगलाई माओवादी केन्द्रले भन्यो- भ्रम सिर्जना हुने निवेदन दर्ता नगरियोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिएको भन्दै त्यसलाई हास्यास्पद भनेको छ ।

एमालेमा गएका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रको दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले यसप्रति प्रतिक्रिया जनाएको हो।

‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति व्यक्ति रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,’ कार्यलय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।’

संविधान, कानून, विधि, विधानविपरीत दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले नेता कार्यकर्ता तथा शुभचिन्तकलाई भ्रममा नपर्न आग्रह गरेको छ।

माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवदेन स्वीकार नगर्न पनि निर्वाचन अयोगलाई आग्रह गरेको छ।

‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकोले आइन्दा त्यसो नगरियोस् भन्ने आग्रह समेत गर्दछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *