सुजिताको हत्यारा पत्ता लगाउन मागसहित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन

चितवन । बेपत्ता भएको १० दिनपछि आइतबार जंगलमा मृत भेटिएकी चितवनकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् ।

राप्ती नगरपालिका ३ झुरझुरेस्थित घरबाटै ११ देखि सम्पर्कविहीन भएकी २२ वर्षीया सुजिता भण्डारीको शव हिजो आइतबार घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

मृतककी आमा अम्बिका भण्डारीले आफ्नो छोरीको हत्यारा पत्ता लगाइदिन अनुनय गरिन् । ‘हामी रोपाईंमा गएका थियौं । घरबाट छोरी अपहरणमा परेपछि मात्रै थाहा भयो । उसले फोन गरेर बचाउन भनेकी थिइ, छोरी बचाउन सकेनौं,’ भावविह्वल अम्बिकाले भनिन्, ‘हत्याराले सजाय नपाएसम्म मेरी छोरीको आत्माले शान्ति पाउँदैन ।’

सयौंको संख्यामा रहेका स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज विहान घटनास्थलको निरीक्षण गरेपछि शव बोकेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल जान लागेको एम्बुलेन्सलाई पनि स्थानीयले अवरोध गरेका छन् ।

याे पनि पढ्नुहाेस्
मृत फेला परिन् हराएकी सुजिता भण्डारी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *