काठमाडौं । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीविरुद्ध समाचार लेखेको भन्दै उनीनिकट व्यक्तिहरुले नेपाल प्रेस संवाददाता शेरबहादुर थापाको घर घेराउ गरेका छन् । थापालाई ज्यान मार्ने धम्कीसमेत दिइएको छ ।
नेता शाहीले सरकारी नम्बर प्लेटको प्राडो गाडीमा रातो नम्बरप्लेट राखेर चढिरहेको विषयमा नेपाल प्रेसमा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई लिएर आफूलाई शाहीका स्वकीय सचिव राजबहादुर रोकायालगायतले ज्यान मार्ने धम्की दिएको थापाले जानकारी दिए ।
शाहीका कार्यकर्ताले घरमै हुलहुज्जत गरेर धम्कीसमेत दिएपछि आफू भागेर होटलमा लुकेको उनले बताए । उनले प्रहरीसँग सुरक्षा माग गरेका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले एक विज्ञप्ति जारी गरी शाहीनिकट कार्यकर्ताहरुबाट थापालाई आएको धम्कीका विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
समाचारको विषयमा चित्त नबुझे खण्डन गर्ने वा अन्य कानूनी प्रक्रिया अपनाउन सक्ने बाटो हुँदाहुँदै गालीगलौज र धम्की दिइनु प्रेस स्वतन्त्रताविरोधि कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply