काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षभित्र आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार को हुने ? भन्नेमा छलफल सुरु भएको छ । क्रियाशील सदस्यता छानबिन लगायतका विषयमा रणनीति बनाउन बसेको बैठकमा वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापतिमा दावेदारी प्रस्तुत गरे ।
बैठकमा क्रियाशील सदस्यता छानबिन, महाधिवेशनका चुनौती लगायतका विषयमा छलफल भइँरहदा पूर्वमहामन्त्री सिंहले उम्मेदवारीको प्रसंग निकालेका थिए । उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा.शशांक कोइरालासंग भएका श्रृखंलाबद्ध भेटबारे जानकारी गराउँदै सिंहले वरिष्ठ नेता पौडेलपछि समूहमा आफू नै सिनियर रहेको दावी गरे । निधिसंग छलफल पहिलेदेखि नै भइरहेको र एकले अर्कासंग सहयोग माग्ने काम भएको ब्रिफिंग सिंहले गरेका थिए । सोही क्रममा आफूलाई सभापतिमा सघाउन सिंहले पौडेलसंग आग्रह गरे ।
‘अघिल्लोपटक रामचन्द्रजीलाई मैले छोडेकै हो । दिलोज्यान दिएर जिताउन लागिपरेकै हो । अब त मलाई सघाउनुपर्यो नि । टिममा पनि उहाँपछिको सिनियर मै हो । पार्टीमा पनि सबै हिसाबले देउवा र पौडेलपछि मै हुँ’, सिंहको दावी थियो । उनले आफ्नो राजनीतिक जीवनको फेहरिस्त बताउँदै सभापतिमा आफूले उम्मेदवारी दिने भएकोले सहयोगको अपेक्षा गरेको बताए ।
सिंहपछि बोलेका वरिष्ठ नेता पौडेलले भने मुलुकको राजनीतिक अवस्थाका कारण कांग्रेसमा अनुभवी र परिपक्व नेतृत्व चाहिएको बताए । १४ औं महाधिवेशनमा आफ्नो नेतृत्वमा सबैजना समेटिन सक्ने भन्दै पौडेलले राष्ट्रिय अन्तर्राष्ट्रिय चुनौती सामना गरेर पार्टीलाई बलियो बनाउन आफू अगाडि बढ्ने बताए । ‘कांग्रेसलाई यसपटक अनुभवी र परिपक्व नेतृत्व चाहिएको छ । त्यसका लागि मेरै नेतृत्वमा साथीहरु समेटिन सक्नुहुन्छ’,पौडेलले भने । पौडेलले आफूले सधैं निष्ठाको राजनीति गरेको भन्दै सभापति शेरबहादुर देउवासंग तुलना नगर्न आग्रह गरे ।
बैठकमा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेतृत्वको लडाइँभन्दा क्रियाशील सदस्यतामा भएको मनपरी रोक्न ध्यान दिनुपर्ने बताए । ‘समायोजनका नाममा क्रियाशील सदस्यमा मनपरी भएको छ । धेरै ठाउँमा विधान विपरीतको काम भएको छ । त्यसलाई रोक्नुपर्यो । त्यसपछि को को चुनाव लड्ने भन्ने त छदैछ नि’, कोइरालाको भनाई थियो । उनले सभापतिमा दावी गरेका नेताहरुबीच नियमित छलफल भइरहेको र साझा उम्मदेवार बनाउन अन्तिमसम्म प्रयास हुनेमा विश्वस्त हुन आग्रह गरे । कोइराला स्वयं सभापति पदका आकांक्षी हुन् ।
बैठकमा पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सबै मिलेर एक जना उम्मेदवार तय गर्नुपर्ने अन्य आफूपनि सभापतिको रेसमा रहेको बताए । बैठकमा केहीबेर उपस्थित रहेका महामन्त्री शशांक कोइराला निर्वाचन समितिसंगको पूर्व निर्धारित छलफलमा सहभागि हुन बीचैमा बैठकबाट बाहिरिएका थिए ।
बैठकले क्रियाशील सदस्यता वितरणका लागि भएका काम र मापदण्ड लगायतका विषयमा सदस्यता छानबिन समितिका सदस्यहरुसंग परामर्श गरी निर्णय लिन केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, गगन थापा र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।

Leave a Reply