शंकर पोखरेलको सेफल्यान्डिङ : नीति तथा कार्यक्रम पारित भएपछि टर्‍याे नैतिक दवाव

रुपन्देही । अल्पमतमा रहेको भनिएको लुम्बिनी प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम आज प्रदेशसभाको बहुमतबाट पारित भयो । यससँगै सरकारमाथि उठेको वैधानिकताको प्रश्न समाप्त भएको सत्तापक्षको बुझाइ छ ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदासम्म पारित हुने-नहुने अन्योल थियो । विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेका थिए । माधव नेपाल पक्षका सांसदहरुले पनि सरकारलाई साथ दिन्छन्-दिँदैनन् भन्ने एकिन थिएन ।

नीति तथा कार्यक्रम पारित नभएको अवस्थामा मुख्यमन्त्री शंकर पोखरेललाई ठूलो नैतिक दवाव पर्ने थियो । तर, तत्कालका लागि उनको संकट टरेको छ र बजेट ल्याउन पनि बाटो खुलेको छ ।

एमाले सांसदहरु नीति तथा कार्यक्रम पारित भएपछि सरकारको बहुमत सिद्द भएको बताउँछन् । माधव नेपालपक्षीय भनेर चिनिएका सांसद विष्णु पन्थीले बहुमतले सरकारको प्रस्ताव पारित हुनुले नै बहुमत प्रष्ट भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘नीति तथा कार्यक्रम बहुमतले पारित भयो, सरकारको बहुमतका विषयमा उठेको विवाद अन्त्य भएको छ । विपक्षीले उठाएका विषय आफ्नै ठाउँमा होलान् ।’

प्रदेश सरकारमा सहभागी सत्तारुढ नेकपा एमालेका ३८ जना र जसपाका ४ जनाले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । प्रदेशसभामा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ गरी ४० सांसद विपक्षी गठबन्धनमा रहेका छन् ।

आइतबारको प्रदेश सभा बैठकमा सबै सांसद उपस्थित थिए र सभाहल भरिभराउ थियो । प्रदेशसभामा आफ्नो धारणा राख्दै माधव नेपालका पक्षमा गनिएका सांसद पन्थीले सरकारको पक्षमा बोलेपछि विपक्षी दलका सांसदहरु अचम्ममा परेका थिए । छलफलका क्रममा विपक्षी गठबन्धनका सांसदहरुले भने नीति कार्यक्रमको विषयबस्तु भन्दा पनि प्रदेश सरकारको आधिकारिकताबारे प्रश्न उठाउनमा समय खर्चिए ।

यसरी भयो पारित

मुख्यमन्त्रीले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर प्रदेश सभामा प्रस्ताव प्रस्तुत गरेपछि निर्णयार्थ प्रस्तुत गर्न खोज्दा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले उठेर मत विभाजन गर्न माग गरे । तर सभामुखले प्रदेशसभाको अवस्था आफूलाई थाहा भएको भन्दै ध्वनि मत प्रक्रिया नै अगाडि बढाए ।

‘संयोगवश आज सत्ता पक्ष र प्रतिपक्षका सबै माननीय सदस्यहरु उपस्थित हुनुहुन्छ । मलाई प्रष्ट अनुमान हुन्छ र यसको भिडियो रेकर्ड पनि हुन्छ । यो प्रक्रिया अगाडि बढाउँदा कुनै माननिय सदस्यलाई चित्त बुझेन भने हाम्रो प्रदेश सभाको नियमावलीको प्रक्रियाअनुसार अगाडि बढाउने जानकारी गराउन चाहन्छु ।’ सभामुखले भनेका थिए ।

त्यसपछि सभामुखले प्रदेश सभामा यो जानकारी गराएपछि निर्णयार्थ प्रस्तुत गरे र ध्वनि मतले पारित भएको घोषणा गरे । त्यसमा कोही पनि सांसदले असहमति प्रकट गरेनन् । यदि सभामुखले पारित भएको जानकारी गराउँदा १० प्रतिशत सांसदले आ-आफ्नो स्थानमा उठेर असहमति जनाएमा अर्को प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान सभामुखको निर्णयलाई स्वीकार गरेको बताउँछन् ।

‘हाम्रो तर्फबाट मत विभाजनको कुरा उठाएका थियौं । सभामुख ज्युले हात उठाउनुस्, हामी त्यही हिसाबले गणना गर्छौ भन्नुभभएपछि प्रक्रियामा गयो,’ उनले भने ।

नेकपा माओवादीका सचेतक घर्तीले प्रतिपक्षको तर्फबाट उठेर गणना गर्न माग गरे पनि सभामुखले पुरानै प्रक्रियामा जाऔं भनेपछि स्वीकार गरेको बताए ।

नेकपा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले विपक्षी दलले उठाएको विषयमा कुनै कानुनी आधार नभइ विरोधका लागि मात्र आएको बताए ।

उनले भने, ‘यसमा कुनै सत्यता थिएन, नीति तथा कार्यक्रम बहुमतले पारित भयो, सरकार आफ्नो गतिमा अगाडि बढ्छ, यहीअनुसार बजेट ल्याउँछ ।’

वैधानिकताको विवाद सकियो ?

गत वैशाख १९ गते मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्ति भएपछि विपक्षी दलहरुले सरकारको वैधानिकतामा प्रश्न उठाउँदै आएका थिए । गठबन्धन नै बनाएर उनीहरुले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफूहरु बहुमतमा रहेको पत्र मात्रै थमाएन् प्रदेशसभामा दोस्रोपटक अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए ।

विपक्षीले सरकारसँग बहुमत नरहेको दावी गर्नुका पछाडि राष्ट्रिय सभाको चुनावी परिणाम प्रमुख आधार थियो । जेठ १७ गते राष्ट्रिय सभाको एक सिटको लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा एमाले प्रदेश सांसद छाडेर कांग्रेसमा गएका दृगनारायण पाण्डेले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

प्रदेश सभाबाट पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए । सो मतदानमा माधव नेपाल पक्षका सांसदले समेत विपक्षी उम्मेदवारलाई सघाएपछि गठबन्धनले सरकारको बहुमत गुमेको दावी गर्दै आएको थियो ।

राष्ट्रिय सभाको गोप्य चुनावमा जे भए पनि नीति-कार्यक्रमका क्रममा एमालेकै माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना भने कमै थियो । पछिल्लो उदाहरण अन्य प्रदेशमा पनि देखिएको थियो । पछिल्लो पटक वागमती प्रदेशमा नीति कार्यक्रम पारित गर्न एमालेका दुबै पक्षले संयुक्त निर्देशन दिएका थिए ।

नीति तथा कार्यक्रम पारित भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने विपक्षीको भनाइलाई सत्ता पक्षले प्रतिरक्षा गर्ने बाटो पाएको छ ।

नीति तथा कार्यक्रम निणयार्थ प्रस्तुत गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दलले सरकारको वैधानिकताका विषयमा उठाएका प्रश्नको कुटनीतिक जवाफ दिएका थिए । आफ्नो पक्षमा ४५ सांसदसहितको बहुमत रहेको उनले दावी गरे ।
‘३९ जना एमालेका र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन छ,’ उनले भने, ‘राजनीतिक बहुमत यही हो ।’

एमाले र जसपाका केही सांसदको विषयमा अदालति टुंगो लागेपछि सबै दलको कानुनी अड्चन हट्ने उनले बताए ।

बजेट ल्याउने बाटो खुल्यो

प्रदेशसभाबाट नीति कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउन सहज भएको छ । विपक्षी दलहरुले नीति कार्यक्रम फेल गराउने रणनीति बनाएको भएपनि बहुमतले पारित भएपछि सरकारलाई राहत मात्रै भएको छैन बजेटका विषयमा उठेका अन्यौल पनि सकिएका छन् ।

सदनमा नीति कार्यक्रम पारित नभए अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहेको सरकारलाई सदनबाटै बजेट ल्याउन यसले बाटो खुलेको छ । यसअघि मुख्यमन्त्रीले विपक्षी दलका नेताहरुलाई भेटेर सदनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र बजेट ल्याउने वातावरण तयार गर्न अनुरोध गरेका थिए ।

मुख्यमन्त्रीले सदन चलाउनका लागि सर्वदलीय बैठक बसेर नै योजना बनाएको आइतबार सदनमा जानकारी गराएका थिए ।

Comments

2 responses to “शंकर पोखरेलको सेफल्यान्डिङ : नीति तथा कार्यक्रम पारित भएपछि टर्‍याे नैतिक दवाव”

  1. Hari Paudel Avatar
    Hari Paudel

    “अल्पमतमा रहेको गण्डकी प्रदेश सभा”?
    मिलेन कि?

  2. Hari Paudel Avatar
    Hari Paudel

    “अल्पमतमा रहेको भनिएको गण्डकी प्रदेश सरका……..”
    मिलेन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *