गैरआवासीय नेपाली संघले गायन रियालिटी सो ‘द सिंगर’ आयोजना गर्ने, विश्वभरका नेपालीले भाग लिन पाउने

काठमाडौं । पछिल्लो समय गैरआवासिय नेपाली संघ (एनआरएन) आर्थिक, सामाजिकसहित विभिन्न क्षेत्रमा सक्रिय हुन थालेको छ । अब भने विदेशमा रहेका नेपालीहरुको छाता संस्थाले प्रवासमा रहेका नेपाली सांगीतिक प्रतिभाहरूलाई समेटेर गायन रियालिटी सो आयोजना गर्ने भएको छ ।

विश्वभर छरिएका नेपाली प्रतिभालाई चिनाउन भन्दै ‘एनआरएन द सिंगर’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । २१ जुनदेखि सुरु हुने सो प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेकका मुलुकमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन्।

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने छन्।

प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा लामिछानेले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न यो कार्यक्रम कोशेढुंगा हुने बताए । उनले कार्यक्रम सफल पार्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे।

एनआरएन अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले सो कार्यक्रम प्राथमिकतामा रहेको बताए । संगीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभा जन्माउने विश्वास व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *