बादललाई प्रश्न- प्रचण्डसँग ४० वर्षको सहयात्रा तोडेर ओलीलाई साथ दिनुको रहस्य के हो ?

पूर्वगृहमन्त्री तथा नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ मिडियामा कमैमात्र बोल्छन् । उनी पार्टी बैठकहरूमा समेत विरलै बोल्ने नेतामा पर्छन् ।

बादलको नबोल्ने स्वभाव नै उनको राजनीतिक पहिचान हो । पुस ५ को संसद विघटनपछि नेकपा विभाजित भयो । त्यसबेला बादल कता लाग्छन् भन्ने धेरैलाई चासो थियो । त्यसअघिका नेकपाका विवादमा पनि प्रायः मौन रहँदै आएका बादल एकपटक प्रचण्ड-माधव पक्षको आँगन बैठकमा सहभागी भए । तर, उनी त्यसपछि पनि खुलेनन् ।

बादलनिकट सबै नेताहरू प्रचण्डसँग लागे पनि उनी नेकपा विभाजनका केही दिन मौन रहे । अन्ततः उनी मौनता तोड्दै केपी ओली पक्षमा लागेका थिए ।

प्रचण्डसँगको ४० वर्ष लामो सहकार्य तोडेर बादलले केपी ओलीलाई साथ दिने कुरा धेरैको लागि अपत्यारिलो थियो । अहिले एमाले विभाजनको उत्कर्षमा पुग्दा पनि बादल एउटा पक्ष बनेका छन् ।

बादलसहितको एमाले कि बादल बिनाको एमालेको बैठक राख्ने भन्ने विवाद छ । आखिर बादलले ओलीलाई किन साथ दिए ? यसबारे उनले नेकपा एमालेको मुखपत्र नवयुगमा खुलासा गरेका छन् ।

प्रस्तुत छ, किरण भट्टराईले बादलसँग नवयुगका लागि गरेको अन्तर्वार्ता नेपाल टकमा ।

० तीन वर्ष पहिले भएको पार्टी एकता एउटा ऐतिहासिक परिघटना थियो । तर एकीकरणलगत्तै समस्याहरू देखा परे र झन बल्झिदै गए । पार्टीलाई विभाजनमा जान नदिन तपाईं स्वयम् पनि क्रियाशील हुनुहुन्थ्यो । तर एकता जोगिन सकेन । विभाजनको मुख्य कारण र कारक केलाई ठान्नुहुन्छ ?

निश्चय पनि तीन वर्षपहिले नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला धारहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको एकीकरण नेपालको राजनीतिक परिदृश्यमा एउटा असाधारण परिघटना थियो । यो परिघटनाले एकातिर जनतामा खुसी र उत्साहको सञ्चार गर्‍यो भने अर्कोतिर प्रतिक्रियावादी कित्तामा चिन्ता र आक्रोश पनि पैदा गर्‍यो । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति आधारभूतरूपमा सम्पन्न भएपछि समाजवादको आधार निर्माण गर्न यो ऐतिहासिक आवश्यकता उत्पन्न भएको थियो । यो नेपाली जनता, पार्टी कार्यकर्ता तथा मित्रहरूको चाहना पनि थियो ।

एकता त भयो । तर, त्यो तीन वर्ष पनि टिक्न सकेन, टिक्न दिइएन । शिशु अवस्थामा नै त्यसको असामयिक मृत्यु भयो । वस्तुतः निर्मम हत्या गरियो । यो दुःखान्त अप्रत्यासित थिएन । यसको पूर्वानुमान गरिएकै थियो । किनभने, यो एकतालाई हामीले असाधारण चुनौती र जोखिमको रूपमा पनि स्वीकार गरेका थियौं ।

यो फुटको पोस्टमार्टम गरेर हेर्दा हामी यसका दुईवटा कारण तथा कारक तथ्यहरू देख्न सक्छौं । पहिलो र मुख्य आन्तरिक कारण, स्वयम् एकीकृत पार्टीमै अन्तर्निहित थियो । साबिक एमालेमा संस्थागत भएको गुटगत प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड माधवकुमार नेपालले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ ।

साबिक माओवादीभित्र संस्थागत भएको गुटवादी प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ । ऐतिहासिक तथ्यहरूले के पुष्टि गर्दछन् भने दुवै प्रतिनिधि पात्रहरूले दशकौंदेखि सत्ता र नेतृत्वमा आफ्नो हालीमुहाली र एकाधिकार कायम गर्दै आएका थिए ।

तीन वर्षका घटनाक्रमहरूले अकाट्य रूपमा के स्पष्ट गर्छन् भने उनीहरूले यो एकता समाजवादको निर्माणका निम्ति होइन अपितु नेतृत्व र सत्तामा आफ्नो एकाधिकार पुनःस्थापना गर्न गरेका थिए । त्यो अभिष्ट पूरा नभएपछि उनीहरूले सुनियोजित रूपमा एकीकृत पार्टीको पुनःविभाजनको प्रपञ्च रचे ।

दोस्रो बाह्य कारणलाई खोतल्दै जाँदा हामी कम्युनिष्टहरूको नेतृत्वमा आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पाउँदछौं । तीनै तहमा कम्युनिष्टहरूको नेतृत्वमा सरकार गठन भयो । समृद्धि र समाजवादको दिशामा देश तीव्र गतिमा अघि बढ्यो । त्यसैले, समाजवादको यो अभियानलाई रोक्न प्रतिक्रियावादीहरूका लागि सरकार र एकीकृत पार्टीलाई विघटन र विभाजन गर्न अपरिहार्य बन्न गयो । यही षड्यन्त्रअन्तर्गत पार्टी नेतृत्वका निष्कासन, विघटित संसद्को पुनःस्थापना, राष्ट्रपतिको मानमर्दन, ‘कम्फर्टेबल सरकार’ गठनको प्रयास, दक्षिणपन्थीसँग सहकार्य आदि परिघटनाहरू प्रायोजित गरिएका हुन् ।

० पार्टीको कानुनी विभाजनसँगै तपाईं आफ्नो समग्र राजनीतिक लिगेसीलाई छाडेर प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुभयो, राजनीतिक हिसाबले नेकपा (एमाले) को नेताका रूपमा स्थापित हुनुभयो । कुन बिन्दुमा तपाईं निष्कर्षमा पुग्नुभयो कि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मात्रै आन्दोलनलाई अगाडि बढाउन सम्भव छ ?

समाजवादको निर्माणका लागि देशको विकास र समृद्धिलाई एउटा निश्चित बिन्दुसम्म पुर्‍याउन अनिवार्य हुन्छ । त्यसका लागि प्रतिस्पर्धाबाट राजनीतिक श्रेष्ठता स्थापित गर्दै राष्ट्रको नेतृत्व गर्नुपर्दछ । नेपालमा वामपन्थीहरूको जनमतको बाहुल्य रहेको तर त्यो विभाजित अवस्थामा भएकाले राजनीतिक श्रेष्ठताका निम्ति कम्युनिष्टहरूको एकता ऐतिहासिक आवश्यकता बन्न गएको हो । यस दृष्टिकोणबाट हेर्दा म प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुको अर्थ फुटका विरुद्ध एकताको पक्षपोषण गर्नु हो । यसको राजनीतिक अर्थ समृद्धि र समाजवादको पक्षमा दृढतापूर्वक उभिनु हो, सङ्घर्ष गर्नु हो । आत्मनिर्भर अर्थतन्त्रको जगमा नै समाजवादको संरचना खडा गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय स्वाभिमान, स्वाधीनता र आत्मनिर्णयको अधिकारको रक्षा गर्नु जरुरी हुन्छ । त्यसैले, म प्रधानमन्त्रीको पक्षमा उभिनुको अर्थ ः राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षमा दृढ समर्थन पनि हो ।

मैले आफ्नो समग्र राजनीतिक ‘लिगेसी’ छाडेर एमालेको ‘लिगेसी’ अङ्गीकार कदापि गरेको होइन । मेरो अडान र पक्षधरतालाई यो रूपमा बुझ्नु/बुझाउनु उचित होइन । निश्चय पनि सर्वोच्च अदालतको फैसलाबाट कानुनी रूपमा त्यसो हुन गएको प्रतीत हुन्छ । एकता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रवाद, समाजवाद मेरो विगतको लिगेसी थियो । आज पनि त्यही हो । एमालेको लिगेसी पनि त्यही थियो, त्यही छ । त्यसैको परिणामस्वरूप नै एकीकृत पार्टी (नेकपा) को जन्म भएको थियो । निश्चय पनि अदालतको आदेशले पुरानो स्वरूपको एमाले स्थापित गरिदिएको छ । तर, आज हामीले पुनर्निर्माण गरेको पार्टी सारतः नयाँ एमाले’ हो, एकीकृत पार्टीको निरन्तरता हो, त्यसको नयाँ स्वरूप हो । २०७५ जेठ ३ गते मैले कमरेड केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख नेताका रूपमा स्वीकार गरेको थिएँ । एमालेले नवौं महाधिवेशनमा उहाँलाई प्रमुख नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसैले गुटवादीहरूले कमरेड ओलीलाई प्रमुख नेतृत्वबाट अपदस्थ गर्न खोज्दा म नेतृत्वको रक्षा गर्न दृढतापूर्वक उभिएको हुँ ।

प्रधानमन्त्रीज्यूको ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ दृढता, महाशक्तिसँग जुध्ने अदम्य देशभक्ति, देश र जनताका लागि आफ्नो स्वास्थ्यको वास्ता नगरी १८ घन्टासम्म काममा निरन्तर खटिने लगनशीलता छ । जनविरोधी र शत्रुहरूलाई तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने, जनतालाई ठेट नेपाली विम्ब र उखानटुक्काद्वारा उत्साहित र उप्रेरित गर्ने, सिद्धान्तप्रति निष्ठा, स्पष्टवक्ता, आत्मविश्वास, सरलता, कार्यकर्ताप्रति स्नेह र संरक्षण सायद यिनै पक्षहरूले मलाई प्रभावित र आकर्षित गर्‍यो कि !

० प्रचण्डसँग तपाईंको ४० वर्षभन्दा लामो सहयात्रा रह्यो । यो अवधि अन्तरसङ्घर्ष र एकताका विभिन्न चरणबाट गुज्रिएको छ । आज प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता, उपयोग र अवसरवादको पर्यायवाचीजस्तो बन्न पुग्नुभएको छ । नेपाली राजनीतिमा प्रचण्डलाई वैचारिक राजनीतिक रूपमा कसरी चरित्र चित्रण गर्नुहुन्छ ?

सामान्तवाद विरोधी जनवादी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग चार दशकभन्दा लामो अवधिसम्म मेरो सहकार्य भयो । यो समय निकै उतारचढाव र उथलपुथललको बीचबाट गुज्रियो । निश्चय पनि नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड प्रचण्डको भूमिकालाई पूर्णतः अस्वीकार गर्नु ‘पूर्वाग्रही’ बन्नु हुनेछ । यो पनि त्यत्तिकै सत्य हो- नेपालको कम्युनिष्ट आन्दोलनको विघटन/विसर्जनमा पनि उहाँको उत्तिकै उल्लेखनीय भूमिका रह्यो, त्यो निरन्तर जारी छ ।

निःसन्देह कमरेड प्रचण्डको मूल प्रवृत्ति र विशेषता निम्न पुँजिवादी अधैर्यता, अस्थिरता र अविश्वसनीयता नै हो । वैचारिक दृष्टिले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले अवसरवाद, साङ्गठनिक रूपमा व्यक्तिवाद (एकैसाथ नोकरशाही, एकाधिकारवाद र व्यक्तिवादी अराजकवाद), व्यावहारिक एवम् सांस्कृतिक रूपमा व्यक्तिवादी उपयोगितावाद उहाँका विशेषताहरू हुन् । प्रत्येक विषयलाई ‘कार्यनीतिक’ रूपमा अभ्यास गर्नु, अन्तरविरोधहरूलाई उपयोग गर्नु, अन्तरविरोध सिर्जना गर्नु, त्यसमा खेल्नु÷खेलाउनु नै हुन् । पछिल्लो दृष्टान्त पार्टी एकता र यसबाट सिर्जित परिघटनाहरू हुन् ।

यही वैचारिक राजनीतिक साङ्गठनिक एवम् सांस्कृतिक विचलनको परिमाण स्वरूप कमरेड प्रचण्ड अस्ताउँदो सूर्यजस्तै अन्धकारमा विलीन भइरहनुभएको छ । आशा गरौं अब उहाँले आफ्नो ‘कार्यनीति’ परिवर्तन गर्नुहुनेछ ।

० नेपाली राजनीतिमा माओवादी आन्दोलनको स्थानलाई कसरी हेर्नुहुन्छ ?

नेपालको राजनीतिमा माओवादी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको निष्कर्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दस्तावेजमा उल्लेख गरिएको छ । यसरी नै एमाले आन्दोलनको पनि महत्वपूर्ण भूमिका रहेको यही दस्तावेजमा उल्लिखित छ । मेरो दृष्टिमा नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादीले मूलतः बायाँ प्रवृत्तिको प्रतिनिधित्व गर्दै आयो । जसले केही बायाँ अतिवादीको गल्तीहरू पनि गर्‍यो ।

अर्कोतिर, एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको मूलतः मध्यमार्गी प्रवृत्तिको प्रतिनिधित्व गर्दै आयो । जसले केही अतिवादी गल्तीहरू पनि गर्‍यो । २०७२/७३ सालसम्म आइपुग्दा यी दुवै आन्दोलनको संयोजन र धक्काबाट आजको यो ऐतिहासिक परिवर्तन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भयो ।

निश्चय पनि आन्दोलनका विभिन्न धाराहरूको भूमिकाको मूल्याङ्कन र समीक्षा समापन टुङ्गिएको छैन । यो जारी छ, निरन्तर जारी रहनुपर्दछ । किनभने, यो बहस र विवेचनाले आन्दोलनको पथप्रदर्शक सिद्धान्त, नीति, कार्यक्रम, योजना र नेतृत्वको समृद्धिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

० नेकपा (एमाले) र माओवादी दुईवटा फरक स्कुलिङ, अभ्यास र पृष्ठभूमिबाट हुर्किंदै आए । खास अवधिमा ती दुईबीच निकै तिक्तता र निषेधको अवस्था पनि रह्यो । आज नेकपा (एमाले) लाई आन्दोलनका दुवै धारका असल परम्पराको प्रतिनिधि पार्टीका रूपमा विकास गर्नु जरुरी छ । वैचारिक, सङ्गठनात्मक र भावनात्मक एकताका लागि कसरी अगाडि बढ्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

समाज र प्रकृति अर्थात् जीवन र जगतको परिर्वतनका वस्तुगत नियमहरू हुन्छन् । ती नियमहरू स्वतःस्फूर्त रूपका साथै सचेत हस्तक्षेपद्वारा क्रियाशील भइरहेका हुन्छन् । मानिसको सचेत एवम् साङ्गठनिक हस्तक्षेपद्वारा निरन्तर समाजमा परिवर्तन भइरहेको हुन्छन् । मानिसले स्वयम् र प्रकृतिलाई विचार, सिद्धान्त, नीति कार्यक्रम, योजनामार्फत हस्तक्षेप गर्दै रूपान्तरणको प्रक्रियालाई अभ्यास गर्दछ । निःसन्देह विगतमा एमाले र माओवादी फरक-फरक स्कुलिङ र अभ्यासबाट हुर्किंदै आएका हुन् । ती नकारात्मक परिघटनाहरू हामीले अवलम्बन गरेका विपरीत नीतिहरूका परिणाम थिए । तर, हामीले यो पनि कदापि बिर्सन हुँदैन, समान्तवाद-समाजवादका विरुद्धको सङ्घर्षमा एकअर्काको परिपूरकको भूमिका पनि हामीले निर्वाह गर्दै आएका हौं । त्यसैले त्यही कारणले युगान्तकारी राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको परिमाणस्वरूप पार्टी एकीकरणको बीजारोपण भएको हो ।

आज दुवै पक्षका फुटवादी प्रवृत्तिहरू अलग भए पनि सकारात्मक प्रवृत्तिहरू नया“ आधारमा एकताबद्ध भएका छौं । अब एकीकृत पार्टीलाई सुदृढ गर्न विचारधारात्मक दृष्टिले मार्क्सवाद-लेनिनवाद, नेपालको विशेष सन्दर्भमा जबजको समृद्धीकरण अपरिहार्य बन्न गएको छ । विचारधारा वा सिद्धान्त फगत जडसूत्र होइन, हुनु पनि हुन्न । यो जीवन र जगत्का परिवर्तन सँगसँगै विकसित हुनुपर्दछ । राजनीतिक दृष्टिले समाजवादको मोटो रूपरेखा कोरिएको छ । तर, नेपालको विशिष्टताअनुरूप समाजवादको ठोस मोडेल निर्माण गर्न निरन्तर प्रयास गर्नु आवश्यक छ । समृद्धि र विकासका आवधिक योजनाहरू कार्यान्वयन गर्न सिङ्गो पार्टी पङ्क्ति र जनपरिचालनमा जोड लगाउनुपर्दछ ।

साङ्गठनिक दृष्टिले, जनआधारित पार्टी, अनुशासित र सक्रिय सदस्यहरू, जनप्रिय कार्यशैली तथा वैचारिक स्पष्टता प्राप्त गर्न सङ्गठनमा निरन्तर प्रशिक्षण, अन्तक्र्रिया, जनसंवाद, आत्मसमीक्षा गर्नु आवश्यक हुन्छ । यी कुरा मात्र पर्याप्त होइन, सङ्गठनको शुद्धीकरण र सुदृढीकरणका लागि भावनात्मक एकता र अन्तरघुलन झनै जरुरी हुन्छ । परस्पर सम्मान, स्नेह, सद्भावका साथै एकअर्काका निम्ति निःसर्त बलिदान, समर्थन र सहयोगले नै गहिरो भावनात्मक एकता एवम् अन्तरघुलन पैदा हुन्छ । यसले सङ्गठनलाई आत्मानुशासित र सुदृढ बनाउँछ ।

० तपाईंलाई प्रधानमन्त्रीका कुन पक्षले बढी आकर्षित र प्रभावित गर्‍यो ?

प्रधानमन्त्रीज्यूको ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ दृढता, महाशक्तिसँग जुध्ने अदम्य देशभक्ति, देश र जनताका लागि आफ्नो स्वास्थ्यको वास्ता नगरी १८ घन्टासम्म काममा निरन्तर खटिने लगनशीलता छ । जनविरोधी र शत्रुहरूलाई तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने, जनतालाई ठेट नेपाली विम्ब र उखानटुक्काद्वारा उत्साहित र उप्रेरित गर्ने, सिद्धान्तप्रति निष्ठा, स्पष्टवक्ता, आत्मविश्वास, सरलता, कार्यकर्ताप्रति स्नेह र संरक्षण सायद यिनै पक्षहरूले मलाई प्रभावित र आकर्षित गर्‍यो कि !

० अझै पनि तपाईंनिकट धेरै युवाहरू माओवादी केन्द्रभित्र छन्, के सन्देश दिनुहुन्छ ?

वास्तवमा यो देशका कर्णधार युवाहरू नै हुन् । राष्ट्रिय स्वाधीनता, समृद्धि र समाजवाद, क्रान्तिका उपलब्धिहरूको रक्षा, स्थायित्व, सुशासन, कम्युनिष्ट आन्दोलनको एकता आजका ज्वलन्त ऐतिहासिक कार्यभारहरू हुन् । आउनुहोस्, फुटवाद र विसर्जनवादको विरोध गर्दै एकीकरण र समृद्धिको मूल प्रवाहमा समाहित र सहभागी बनौं ।

Comments

4 responses to “बादललाई प्रश्न- प्रचण्डसँग ४० वर्षको सहयात्रा तोडेर ओलीलाई साथ दिनुको रहस्य के हो ?”

  1. RC Neupane Avatar
    RC Neupane

    राजनीतिको सामयीक बिचार पश्कनु भएकोमा धन्यवाद । क.बादलद्वारा अभिब्यक्त बिचार बास्तविकतामा अाधारित छ ।

  2. Raj Avatar
    Raj

    Chapluc nathe kp ukhaneko pu66r baner aafno rajnitit yatra sakiyko thaxaen aja kp chorlai bokx

    1. Bharat khadka Avatar
      Bharat khadka

      Badal ji khariyar aaunu bhaeko neta

  3. Jwala Giri Avatar
    Jwala Giri

    Afnai chhorole badal ko political career ma badal lagyo

Leave a Reply

Your email address will not be published. Required fields are marked *