बजेटले किन खुशी भए पर्यटन व्यवसायी ?

काठमाडौं । कोरोना महामारीले सबैभन्दा प्रताडित बनाएको क्षेत्र हो, पर्यटन । निषेधाज्ञाका कारण पर्यटकीय गतिविधिहरु ठप्प हुँदा यो क्षेत्र अभूतपुर्व संकटमा छ र धेरै व्यवसायीहरु पलायनको अवस्थामा छन् ।

पर्यटन क्षेत्रको संकटमोचनका लागि व्यवसायीहरु सरकारले ल्याउने बजेटको आशा गरेर बसेका थिए । हिजो अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट भाषण सुनिसकेपछि उनीहरुको अनुहारमा अलिकति मुस्कान आएको छ ।

१६ अर्बभन्दा बढीको बजेट गर्दा अर्थमन्त्रीले पर्यटन व्यवसायको पुनरुत्थानमा केन्द्रित विभिन्न योजना अघि सारेका छन् । अहिलेसम्म सरकारको आँखामा नपरेका मध्यपहाडी क्षेत्रको पर्यटन र होटललाई उत्पादन क्षेत्रमा राख्ने विषयले बजेटमा उल्लेख छ । सरकारले बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेटका बारेमा पर्यटन व्यवसायीको धारणा उनीहरुकै शब्दमा ।

डा. धनन्जय रेग्मी (पर्यटन बोर्डका सीईओ)

बजेट समग्रमा ठीक छ । कार्यान्वयन कति हुन्छ त्यो हेर्नुपर्छ । पर्यटन क्षेत्रका लागि सकारात्मक ढंगले बजेट आएको छ ।

अहिले कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई माथि उकास्नका लागि सरकारी कर्मचारीलाई पैसासमेत दिएर १० दिन ‘देश भ्रमण’ विदा दिने कुरा अत्यन्त राम्रो हो । यसले आन्तरिक पर्यटनमा ठूलो टेवा पु¥याउँछ । साथै पर्यटन बोर्डले भन्दै आएको मध्यपहाडी भागमा पर्यटन गतिविधिको विकास ‘हिल स्टेशन’ को कुरालाई पनि बजेटले छोएको छ ।

होटललाई उत्पादनमूलक क्षेत्रमा समेट्नुपर्ने हाम्रो पहिलैदेखिको मागलाई यो बजेटले समेटेको छ । यो स्वागतयोग्य कुरा हो ।

केही कुरा भने अहिले नगरिएको भए पनि हुन्थ्यो । जस्तो, अहिले ‘ग्रेट हिमालय’ कुरा बजेटमा समेटिएको छ । यो अहिले आवश्यक थिएन । पर्यटन क्षेत्रमा आवद्ध श्रमिकलाई यो बजेटले छोएको देखिदैन । सरकारले ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रममा २ लाख श्रमिकलाई रोजगारी दिने भनेको छ, यसमा १ लाखचाहिँ पर्यटन क्षेत्रका लागि छुट्याइदिएको भए राम्रो हुने थियो । किनकी अहिले पर्यटन मजदुर सबैभन्दा धेरै पीडित भएको अवस्था छ ।

पर्यटन क्षेत्रमा गत वर्षको बजेटले दिएको सहुलीयत ऋण तथा पुनरुत्थान प्याकेजका लागि जुन कार्यविधि बनाइएको छ, त्यसलाई निरन्तरता दिइयो भने त्यो काम लाग्ने हुँदैन ।

समग्रमा अहिलेको बजेट हामीले भने जस्तै आएको छ । तर, कार्यान्वयन हुनु प¥यो ।

सोचेभन्दा राम्रो बजेट आयो

नेपाल होटल संघ (हान) महासचिव साजन शाक्य

यो वर्षको बजेट होटल व्यवसायीका लागि अत्यन्त राम्रो छ । हामी होटल व्यवसायीले सोचेभन्दा बढी नै यो सरकारले बजेटमा कार्यक्रम ल्याएको छ ।

होटल व्यवसायीले माग राखेका प्रायः सम्पूर्ण कुरा बजेटमा समेटिएका छन् । हामीले २५ वर्षदेखि लविङ गर्दै आएको होटललाई उत्पादन क्षेत्रमा राखेर उद्योग सहर सेवा–सुविधा दिनु पर्छ भन्ने थियो । त्यसलाई यो बजेटले संवोधन गरेको छ ।

अब होटल उद्योगमा गएपछि होटल संचालनमा हामीलाई धेरै नै सहज हुनेछ । जस्तो, उद्योगले सरकारबाट पाउने सबै सेवा सुविधा होटलले पाउने छन् । साथै, ५० अर्बको पुर्नकर्जाको दायरा फराकिलो बनाउने भनिएको छ । साना होटललाई धितो नराखिकन ऋण प्रवाह गर्नु पर्ने कुरामा त्यसको पनि आकार र प्रक्रिया हेरेर विस्तार गरिने भनिएको छ । सायद राष्ट्र बैकले उनीहरुलाई ऋण प्रवाह गर्नेछ ।

अहिले कोरोना माहामारीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र नै होटल भएकाले बजेटमा उल्लेखित भएका कुरा कार्यान्वयन भयो भने होटल क्षेत्रलाई पूर्ण सम्वोधन गरेको देखिनेछ । बजेटप्रति हान अत्यन्त खुसी छ ।

पर्यटन व्यवसायीलाई राहत

नारायण पराजुली (अध्यक्ष)

‘सोसाइटी अफ ट्राभल एण्ड टर अपरेट नेपाल’ (सोट्टो)

बजेटले पर्यटन क्षेत्रलाई राहत दिएको देखिन्छ । तर, यो बजेट कति लागू हुन्छ, हुँदैन त्यो हेर्न बाँकी छ ।

पर्यटन व्यवसायीलाई अलिकति महसुस हुने किसिमको बजेट आएको छ । सहुलीयत ऋण दिने भनिएको छ । यसैगरी, सरकारले १० दिन कर्मचारीलाई देश भ्रमणका लागि विदा दिने भन्ने कुरा छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुका साथै हामी जस्ता पर्यटन व्यवासयीलाई पनि ठूलो भरथेग गर्छ । सरसर्ती हेर्दा बजेटले पर्यटन क्षेत्रलाई राहत नै दिएको छ ।

 

सामाजिक सुरक्षा कोषमा भरथेगको आशा

होटल व्यवसायी योगेन्द्र शाक्य

बजेट ठीक छ । पर्यटन क्षेत्रलाई समेटेको पनि छ । अहिलेको माहमारीमा सरकारले सबैलाई पैसा दिएर पनि सक्ने अवस्था होइन ।

तर, मेरो चासो के हो भने होटल क्षेत्र अहिले ठूलो संकटमा रहेको छ । होटल चले पनि नचले पनि यसका चारवटा खर्च भने सधै भइरहन्छन् । कर्मचारी खर्च, विजुली खर्च, बैंक लोन र घर भाडा ।

अहिले कम्पनीले कर्मचारीलाई तलब दिन सक्ने अवस्था छैन र, कर्मचारी पनि जागिर नगरी बस्ने अवस्था छैन । त्यसैले होटल व्यवसाय जसले सामाजिक सुरक्षा कोषमा गएका छन्, तिनीहरुका कर्मचारीलाई दुई बर्ष सरकारले नै सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरिदिने हो भने कर्मचारी पनि बाँच्न पाउँथे र होटल व्यवसायी पनि बाच्थे । यसले सरकारलाई पनि फाइदा पुग्थ्यो जस्तो लाग्छ ।

एउटा व्यवसायी अनुशासित भएर सामाजिक सुरक्षा कोषमा जान्छ भने उसलाई ‘रिवार्ड’ गरेजस्तो पनि देखिन्थ्यो । अन्य व्यवसायी पनि सामाजिक सुरक्षा कोषमा जान उत्साहित हुन्थे ।

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)

अध्यक्ष खुमबहादुर सुवेदी

बजेटमा भनेका कुरा ठीक छन् । तर, यो बजेटले सबै कुरा भविष्यका लागि ल्याएको छ । जस्तो विदेशी पर्यटकलाई ३० दिन भिषा फ्री दिइएको छ । तर उनीहरु आउने कहिले हो कहिले, त्यसबेला कमाएको रकमबाट कर छुट दिनुको के अर्थ भयो र ?

पहिला त पर्यटक आउने वातावरण चाहियो । व्यवसायी र श्रमिक बाँच्नुपर्‍यो पहिला । हामीले कर क्लियरेन्सका आधारमा न्यूनतम बिनाधितो २५ लाख रुपैयाँ ऋण देउ भनेका थियौं, त्यो भएन । अहिले हाम्रो पर्यटन व्यवसायीको समस्या नै नेपाल रेड जोनबाट हट्नु प¥यो । रेड जोनबाट हट्नका लागि नेपालले ‘भ्याक्सिन’ पहिले ल्याउनु पर्छ र सम्पूर्ण नेपालीलाई लगाउनु पर्छ । यसरी ‘भ्याक्सिन’ लाएको खंण्डमा नेपाल रेड जोनबाट हट्ने छ र विदेशी नेपाल आउने छन् ।

त्यस वखतमा अहिले बजेटमार्फत सरकारले दिएका कुरा ठीक छन् । तर, अहिले व्यवसायी त टिक्नु पर्यो‍ नी । यसका लागि केन्द्र सरकार वा प्रदेश सरकार जसले भए पनि सहुलीयतपूर्ण कर्जा दिन आवश्यक छ । भविष्यका लागि सरकारले गरेको निर्णय ठीक छ । तर यो बजेट कार्यन्वयन हुनेमा शंका छ । भविष्यमा पर्यटन उद्योगलाई बचाउने हो भने पहिला भ्याक्सिन उपलव्ध गराउनु पर्‍यो ।

Comments

2 responses to “बजेटले किन खुशी भए पर्यटन व्यवसायी ?”

  1. Hari Paudel Avatar
    Hari Paudel

    “१६ अर्ब बढिको बजेट गर्दा….” होइन होला “१६ खर्ब बढीको बजेट पेश गर्दा….” हुनुपर्ने जस्तो लाग्छ।
    त्यस्तै
    “अहिलेसम्म सरकारको आँखामा नपरेका मध्यपहाडी क्षेत्रको पर्यटन र होटललाई उत्पादन क्षेत्रमा राख्ने विषयले बजेटमा उल्लेख छ । ” को अर्थ प्रष्ट भएन !

  2. संजय बजिमय Avatar

    लुम्बिनी प्रदेस र मधेसका धेरै मागहरुलाई सम्बोधन गरिएको तर कार्यान्वयनमा ठुलो चुनौति देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *