अर्घाखाँची सिमेन्ट उद्योगद्वारा स्वास्थ्य चौकी निर्माण

रुपन्देही । अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लगानी गरेर रुपन्देहीको सियारी गाउँपालिका-२, मैनहियामा स्वास्थ्य चौकी निर्माण गरिदिएको छ । उद्योग आफैंले ४ महिनामा निर्माण गरेको सो स्वास्थ्य चौकी भवन बुधबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको बताए ।

एक तलाको उक्त स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट, बाथरुम छन् । १५ शय्यासम्म राख्न मिल्ने सो भवनमा तत्काललाई १० बेड र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराइएको र १५ बेडसम्म राखेर बिरामीको उपचार गर्न मिल्ने अग्रवालले बताए ।

अग्रवालले भने, ‘हाम्रो उद्योग यहाँ संचालित छ, यहाँको स्वास्थ्य, शिक्षालगायतका कुराहरुमा हामीले हातेमालो गरौं भन्ने उद्देश्यले स्वास्थ्य चौकी बनाएका हौं ।’ उनका अनुसार आवश्यकताका आधारमा दोस्रो तला थप्न पनि सहयोग गरिनेछ ।

गाउँपालिका अध्यक्ष अयोध्या थारुले बेड र अक्सिजन पनि भएकाले स्वास्थ्य चौकी तत्काल संचालनमा ल्याई कोरोना संक्रमितको उपचार शुरू गर्ने बताए । ‘यस्तो अवस्थामा स्वास्थ्य चौकी बनाएर उद्योगले शिक्षा, स्वास्थ्यमा पालिकाभित्र ठूलो योगदान गरेको छ’, थारुले भने ।

स्वास्थ्य चौकी हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यमा कोरोना महामारीलाई जित्न सफल हुने विश्वास गरे ।

केही समयअघि अर्घाखाँची सिमेन्ट प्रालिले सियारीकै भगदरीमा ४ कोठा र सेमरामा ६ कोठाको विद्यालय निर्माण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *