राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ?

काठमाडौं। आइतबार राति अबेरसम्म एमालेका ६ जना नेता राजधानीको पाँचतारे होटल याक एण्ड यतिमा पार्टी फुट्न नदिन अन्तिम कसरतमा थिए । १० सदस्यीय वार्ता कार्यदलका ६ जना नेता एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने अनौपचारिक सहमति गरेर उठेका थिए ।

वार्तामा संस्थापन पक्षबाट वार्ता टोली संयोजक सुवास नेम्वाङ, बिष्णु पौडेल र प्रदिप ज्ञवाली थिए भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई बसेका थिए ।

नेताहरुबीच माओवादीसँग एकीकरण गर्नुअघि थपिएका ४१ जना र पछिल्लो पटक माओवादीबाट प्रवेश गरेका २३ जनासहित २६५ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएर पार्टीलाई जेठ २ मा फर्काउने कुरा भएको थियो ।

साँझ ८ बजेदेखि राति ११ बजेसम्मको छलफल पार्टीलाई मूल रुपमा जेठ २ को अवस्थामा लगेर मिलाउने अनौपचारिक सहमति भएको वार्तामा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए । तर विहानै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदनमा हस्ताक्षर गराउन वार्ताकार नेता नै सक्रिय भएको सूचना पाएपछि संस्थापन पक्ष झस्क्यिो ।

त्यसो त आइतबार वार्ता गर्ने प्रस्ताव बालुवाटारतिरबाटै गएको थियो । शुरुमा घनश्याम भुसालले नआउने बताएका थिए । तर पछि गोप्य रुपमा छलफल गर्ने हो भने आउछु भनेपछि वार्तालाई गोप्य राखिएको स्रोतले जनाएको छ ।

वार्तामा सहभागी एक नेताले भने- त्यहाँ लामो छलफल भयो । संसद विघटनप्रति उहाँहरुको असहमति छँदै थियो । तर पनि पार्टी एकता जोगाउन मुलतः जेठ २ मा जान सकिने भनेर उठेका हौं । सहमति भयो भन्ने हिसाबले उठियो तर घनश्यामजी त हस्ताक्षर गराउने क्याम्पेनर पो बन्नुभएछ । उहाँको भूमिका पछिल्लो समय भित्र एउटा र बाहिर अर्कै देखिदै थियो ।

घनश्याम र यागेशकै कारण एकताका लागि धेरै प्रयास भए पनि पछिल्लो समय योगेश अडानमा बस्ने तर घनश्याम दोहोरो भूमिकामा देखिने गरेकाले अब एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष नेताहरुले निकालेका छन् ।

आइतबार रातिको वार्तामा बसेका भुसाल र पाण्डे नै रिट लिएर सर्वोच्च अदालत गएपछि उनीहरु यो निष्कर्षमा पुगेका हुन् । योगेश भट्टराई र गोकर्ण विष्ट भने एकताको पक्षमा अहिले पनि ठाउँ राख्नुपर्छ भन्नेमा देखिएका छन् । आइतबार गोकर्णलाई पनि बोलाइएकोमा उनी विरामी परेकाले आउन नसकेको निकट स्रोतले जनाएको छ ।

Comments

One response to “राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ?”

  1. नेत्रप्रसाद नेपाल Avatar
    नेत्रप्रसाद नेपाल

    छलफल होइन कार्वाही गरेर पहिल्यै पाँच छजनालई निकालिदिएको भए यो अवस्था आउने थिएन ।एमाले भित्र बाटनै निस्कासन गर्न नदिने तत्वले जिम्मेवारी र जवाफदेहीता लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *