काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री लक्ष्मण घिमिरेले एमालेका सांसदका हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदका लागि दरखास्त हाल्नु ठूलो राजनीतिक भूल भएको टिप्पणी गरेका छन् ।
कांग्रेस नेता घिमिरेले सभापति देउवालाई खुला पत्र लेख्दै संसदीय परिपाटीमा विश्वास राख्ने पार्टीले यस्तो निर्दलीय चरित्रलाई प्रश्रय दिनु पार्टीका लागि कलंक बनेको बताएका छन् ।
घिमिरेले भनेका छन्- पार्टी नफुटिकन तिनीहरुले कसरी तपाईंको पक्षमा मतदान गर्न सक्थे ? फेरि दलीय संसदीय परिपाटीमा विश्वस राख्ने नेपाली कांग्रेस पार्टीले यस्तो निर्दलीय चरित्रलाई प्रश्रय दिनु आफैंमा पार्टीलाई कलंक पनि हो । यसैलाई नजिर बनाएर भोलिका दिनहरुमा कांग्रेसका केही सांइसदलाई अरुले प्रयोग गरेमा के आधारमा विरोध गर्ने ?
घिमिरेले २०५० सालमा सरकारका नीति तथा कार्यक्रम संसदबाट नेपाली कांग्रेसका ३६ जना सांसदको अनुपस्थितिले गर्दा पारित हुन नसकी मुलुक मध्यावधि निर्वाचनमा धकेलिएको स्मरण समेत गरेका छन् ।
सोही प्रकरणले बिग्रिएको नेपालको राजनीतिले अझै स्थिरता पाउन नसकेको भन्दै घिमिरेले देउवालाई अरुको पार्टीका सांसद बोकेर प्रधानमन्त्री पद दावी गर्नु गलत भएको बताएका छन् ।

Leave a Reply