धौलागिरी हिमालबाट संकलित ४७२० किलो फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालबाट संकलन गरेको फोहोर हस्तान्तरण गरेको छ । बिहिबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् संकलन गरिएको फोहोर पुनः प्रयोग गर्नेगरी व्यवस्थापन गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण गरिएको हो ।

फोहोर संकलनको क्रममा धौलागिरी हिमालमा फेला परेको दुई वटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बुझाइसकिएको छ ।

उक्त हिमालबाट संकलन गरीएको ५ हजार २० किलो फोहोर मध्ये सड्ने र कुहिने खालको ३ सय किलो फोहोर आइतबार नै धौलागिरी गाउँपालिकालाई बुझाइसकिएको नेपाली सेनाका प्रवक्ता सन्तोस बल्लभ पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नकुहिने ४ हजार ७ सय २० किलो फोहोर पुनः प्रयोग गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई बिहिबार हस्तान्तरण गरिएको हो ।

साथै, सफा हिमाल अभियान अन्तर्गत् विभिन्‍न ६ वटा हिमालको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई ध्याद दिएर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम जेठ ३ गते नै सम्पन्न गरिएको सेनाले जनाएको छ । मकालु हिमालको सफाई जेठ ११ गतेसम्म र सगरमाथा लगायत ल्होत्से तथा पुमोरीको सफाईलाई जेठ १५ गतेसम्म निरन्तरता दिइने सेनाको योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *