रानीझरनामा क्यानोनिङ रिसर्च सेन्टर बन्दै

धादिङ । धादिङको थांक्रे गाउँपालिका -६ स्थित रानीझरना क्षेत्रमा क्यानोनिङ रिसर्च सेन्टर भवन निर्माण शुरु गरिएको छ । नेपाल सरकारको सय नयाँ गन्तव्यको सूचीमा समावेश भई पर्यटन पूर्वाधार निर्माण कार्य भइरहेको रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्न लागेको हो ।

नेपाल सरकारको विशेष अनुदानमा निर्माण गर्न लागिएको सो भवनको सोमबार धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले भवनको शिलान्यास गरेका छन् । ५ करोड रुपियाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न गौरेश्वर निर्माण सेवा प्रा.लि. र आएनसी जेभीले ४ करोड ७ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएका छन् ।

रानीझरना क्षेत्रमां थांक्रे गाउँपालिकाको पर्यटन क्षेत्र कार्यक्रम अन्र्तगत मिनि लुम्विनीको अवधारणामा पुर्वाधार निर्माणको काम समेत भइरहेको छ । काठमाडौंबाट ४० किलोमिटर दूरीमा रहेको पुथ्वीराजमार्गको महादेब बेसीबाट ४ किलोमिटर दक्षिणतर्फ कच्ची बाटो गएपछि रानीझरना पुग्न सकिन्छ ।

नेपाल क्यानोनिङ एशोसियशनको आयोजनामा २०७५ जेठ २६ र २७ गते रानीझरनामा प्रथम छाँगाबरोहण महोत्सव आयोजना गरि व्यवसायिक छाँगाबरोहण सुरुवात गरिएको थियो । राजधानीबाट निकै छोटो दूरीमा रहेको कारण छाँगाबरोहण (क्यानोनिङ) गर्न आउनेको भिड लाग्ने गरेको छ ।

रानीझरनालाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्यक्रममा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।भवन शिलान्यास कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, लगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *