काठमाडौं । नेपाली कांग्रेस महोत्तरीका नेता बजरंग नेपालीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गरेका थिए । पार्टीको आधिकारीक उम्मदेवारका रुपमा मनोनयन दर्ता गरेपछि चुनावी अभियान सुरु गर्दैथिए । यत्तिकैमा बजरंगलाई कांग्रेस सभापति शेरबहादुर देउवाको फोन आयो-उम्मेदवारी फिर्ता लिइदिनुपर्यो । महन्थ ठाकुरलाई जिताउन पर्ने भयो ।
साढे ३ वर्षपछि उनै महन्थका कारण देउवा प्रधानमन्त्री बन्न पाएनन् । संविधानको धरा ७६ को २ अनुसार गठबन्धन सरकारको नेतृत्व गर्न महन्थकै असहयोगका कारण देउवा रोकिए । देउवाको निर्देशन स्वीकार गरेर महन्थका लागि चुपचाप मैदान खाली गरिदिएका बजरंग भन्छन् – नेतृत्वले अब त चेत्यो होला, महन्थलाई चिन्यो होला ।
प्रजातन्त्र सेनानी गणेश नेपाली र दानादेवी नेपालीका छोरा बजरंग १० वर्षको उमेरमै भारतमा पक्राउ परेका थिए । निर्वासनमा रहेका पिताले सशस्त्र आन्दोलनका लागि जम्मा पारेका हतियारसहित भारतको सीतामडीमा पक्राउ परेका बजरंग नाबालक भएकै कारण ५० हजार जमानतमा रिहा भए ।
त्यसयता राजनीतिक रुपमा क्रियाशील रहँदै आएका बजरंगका लागि महन्थ एक निष्ठावान र लोकतन्त्रप्रति प्रतिबद्ध नेता थिए । कुनैबेला कांग्रेस भएकै कारण महन्थले जागिर गुमाएको जनकपुरको आर.आर.क्याम्पसमा २०४९ सालमै स्ववियु सभापति बनेका बजरंग नेविसंघ केन्द्रीय सदस्य, पार्टीको जिल्ला सचिव हुँदै हाल महासमिति सदस्य छन् ।
महन्थलाई जिताउनै पर्ने पार्टी नेताको आग्रह स्वीकारेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका बजरंग महन्थको निर्णयबाट आश्चर्यचकित छैनन् । ‘मैले उम्मेदवारी फिर्ता लिएर उहाँलाई भोट माग्दै हिडे तर उहाँले चुनावकै बेला मधेशबाट कांग्रेस सिध्याउनुपर्छ भनेर भाषण गर्नुभयो । महन्थजीले कांग्रेसलाई धोका दिनु कुनै नौलो कुरा लागेको छैन’, बजरंगको भनाई छ ।
व्यक्तिगत रुपमा महन्थप्रति आफ्नो सम्मान रहेपनि राजनीतिक रुपमा मतभेद हुनु स्वभाविक रहेको उनी बताउँछन् । ‘कांग्रेसका लागि योगदान गरेको मात्रै होइन कांग्रेसले अवसर समेत दिएको नेता हो उहाँ । गिरिजाबाबुको त्यत्रो विश्वासमा रहेको मान्छे किन कांग्रेस छाड्नुभयो ? सायद आज प्रमाणित हुँदैछ’, उनले भने ।
बजरंगले उम्मेदवारी फिर्ता लिएर सघाएकै कारण महोत्तरी ३ मा महन्थको जित फराकिलो भएको थियो । महन्थले २६ हजार ८ सय ४५ मत ल्याउँदा एमालेका बिजयकुमार चौधरीले ८ हजार ६ सय ७६ मत ल्याएका थिए ।
२०६४ सालमा कांग्रेस छाडेपछि आमनिर्वाचनमा महन्थको यो पहिलो जित थियो, जसमा कांग्रेसकै समर्थन निर्णायक रह्यो । अन्यथा संविधानसभाको २०६४ र २०७० को दुवै निर्वाचनमा महन्थ पराजित भएका थिए ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउन महन्थले गरेको असहयोगलाई अन्य धेरै कारणबाट बजरंगले विश्लेषण गरेका छन् । कांग्रेस र जसपाको राजनीतिक भूगोल र नेता कार्यकर्ताको वर्ग उस्तै रहेकोले कांग्रेस नहारेसम्म जित्न नसकिने जसपाको निष्कर्ष रहेको बजरंगको बुझाई छ । ‘मधेशमा कांग्रेसले जित्यो भने जसपाको नामोनिसान रहन्न । त्यसैले एमालेसंग मिलेर कांग्रेस हराउन महन्थजीले केपी ओलीसंग हात मिलाउनुभयो’, उनी भन्छन् ।
सत्ताको राजनीतिमा कांग्रेस सभापति देउवा चतूर खेलाडी भनेर आफूले सुनेपनि अहिले त्यो गलत सावित भएको बजंरगको बुझाई छ । ‘महन्थ ठाकुरजीलाई केपी ओलीले फकाउन सक्ने अनि शेरबहादुर देउवाले नसक्ने ? ओलीसंग गिभ एण्ड टेक हुने देउवासंग किन नहुने ? कमजोरी त हाम्रो पनि भयो कि ?’, उनी भन्छन् ।
आफूलाई कांग्रेसको इमान्दार कार्यकर्ता भन्न रुचारुउने बजरंग अझैपनि पार्टी नेतृत्वले मधेशको राजनीतिबारे धारणा फेर्नुपर्ने बताउँछन् । मधेशमा कांग्रेसको जग बलियो भएपनि नेताहरुको कमजोरीले मधेशवादी दलले तागत बढाएको उनको विश्लेषण छ । ‘कांग्रेसले मधेशमा दर्होसंग खुट्टा टेक्ने हो भने कसैले हराउन सक्दैन । त्यसका लागि व्यक्ति जिताउन पार्टी सिध्याउने खेल बन्द गर्नुपर्छ’, बजरंग भन्छन् ।
साढे ३ वर्षअगाडि सभापति देउवा मात्रै होइन पार्टीका अन्य नेताले पनि बजरंगलाई फोन गरेर सम्झाएका थिए । ‘यसपटक महन्थजीलाई जिताउन सहयोग गरिदेऊ’, नेताहरुले भनेका थिए । अहिले तिनै नेतालाई बजरंग सोध्न चाहन्छन्, ‘आफैले जिताएका महन्थलाई मिलाउन सक्नुभएन । अब फेरी जिताउने हो की ?’

Leave a Reply