आइतबार बिहान नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी लुम्बिनी प्रदेशसभामा कपिलवस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले आकस्मिकरुपमा एमाले र संसद पदबाट राजीनामा दिएको बताएका छन् । हिजो दिउँसो लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।
पाण्डे तत्कालीन नेकपाको उम्मेदवारका रुपमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । उनले पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिलाई नियाल्दै हिजैदेखि लागू हुने गरी प्रदेशसभा सदस्य र नेकपा एमालेबाट समेत राजीनामा दिएको बताएका छन् । उनै पाण्डेसँग गरिएको कुराकानी ।
आकस्मिक रुपमा किन आयो तपाईंको राजीनामा ?
जुन योजना र उद्देश्यका साथ प्रदेशसभामा निर्वाचित भएर आएको थिएँ प्रदेशसभा सदस्य भएर ती योजना र उद्देश्य अनुसार काम गर्न सकिएन, प्रदेशसभामा बसेर मधेसी जनताको पक्षमा काम गर्न नसकेपछि फेरि जनताकै बीचमा गएर काम गर्न राजीनामा दिएको हुँ ।
बिहान संसदीय दलको बैठकमा बस्नुभयो, दिउँसो राजीनामा किन ? भित्रै असहमतिका कुरा राख्नुभएन कि सुनिएन ?
म एमालेको संसदीय दलको बैठकमा गएको थिएँ, उपस्थितिमा हस्ताक्षर पनि गरेको हुँ तर निर्णयमा हस्ताक्षर गरेको छैन । आफू अल्पमतमा परिने प्रष्ट हुँदा पनि पुनः सरकारमा जाने विषयमा मेरो असहमति हो ।
तपाईको असन्तुष्टि पार्टीसँग हो कि मुख्यमन्त्रीसँग ?
कुरा के हो भन्दा सत्ता राजनीतिमा मात्रै केन्द्रित हुनुभयो हाम्रो मुख्यमन्त्री शंकर पोखरेल र उहाँको पार्टी । विकासमा केन्द्रित हुनुपर्नेमा राजनीतिक सत्तामा मात्रै केन्द्रित हुने, हाम्रो गणना सत्ता जोगाउन मात्रै हुने, अनि उहाँको सत्ता जोगाउन मात्रै हामी सांसद भइरहनुपर्ने ? जनताको माग सम्बोधन गर्न उहाँले केही पनि गर्नुभएन । यस्तो अवस्थामा म उहाँहरुसँगै बस्न नचाहेको हुँ ।
तपाईलाई अविश्वासको पक्षमा फ्लोर क्रसका लागि तयार गरिएको, एमालेको माधव नेपाल समूहमा लागेको आरोप लाग्ला नि अब त ? कि प्रलोभनमा दिनुभयो राजीनामा ?
होइन कसले के भन्छ भन्नेतिर म लागिन । विवेक पु¥याएरै मैले निर्णय लिएको हुँ । मैले पार्टीबाट समेत राजीनामा दिएकाले अब स्वतन्त्र रूपमा जनताको सेवामा समर्पित हुनेछु । यहाँ आउँदा मेरा केही अपेक्षा थिए, ती पूरा भएनन् । मैले कसैको दबाबमा परेर वा पार्टीलाई अप्ठयारोमा पार्नका लागि राजनीनामा दिएको होइन । म एमालेको कुनै पनि समूहमा थिइनँ र छैन ।
नयाँ सरकार बन्दा पनि मन्त्री नपाएको भएर हो तपाईको असन्तुष्टि ?
जनताले मबाट धेरै अपेक्षा राखेर जिताएर पठाएका थिए । म जननिर्वाचित सांसद भएकाले उहाँहरूको माग सम्बोधन भएन भने मैले फेरि चुनावमा कुन मुख देखाएर जाने ? मेरो सरोकार जनताका दुःख सम्बोधन गर्नेमा हो, सरकारमा सहभागी हुने होइन । त्यसैले मैले यस्तो कारणले राजीनामा दिएको भनेर सबै मतदातालाई भन्न पाउने छु मलाई अवसर नै दिइएन, काम गर्न दिइएन भनेर ।
के एजेण्डा थिए त तपाईका जुन मुख्यमन्त्रीले पूरा गरिदिएनन् ?
चुनावमा जनतासामू विकासका धेरै एजेण्डामा प्रतिवद्धता गरेको छु । विकासका हिसाबले निकै पछाडि परेको जिल्ला हो– कपिलवस्तु । सडक, विद्यालय र स्वास्थ्य पूर्वाधार निर्माण लगायतका धेरै काम गर्ने प्रतिवद्धता गरेको थिएँ । धेरैपटक मैले मुख्यमन्त्रीलाई यो कुरा सुनाए पनि उहाँले ती विषयमा कहिल्यै ध्यान दिनुभएन । सुन्न पनि चाहनुभएन । उहाँको पार्टीबाट विकास र समृद्धिको नारा लिएर जनताको बीचमा गएको मान्छे म जनताका माग पूरा नभएपछि किन बसिरहने ? मेरो सवाल यही हो । आज म धेरै नबोलौं पछि फेरि कुरा गरौँला ।

Leave a Reply