एमाले बैठकमा ओलीको ब्रिफिङ- मैले लेनिनको शैली अपनाएँ, तर अर्को पक्षले एकता चाहेन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा जस्तै पार्टी कब्जा गर्ने ढंगले माधव नेपालहरु आएको हो भने त्यो सम्भव नहुने प्रष्ट पारेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि पार्टीमा माधव पक्षलाई समेटेर लैजान आफू लचिलो बनेर प्रस्तुत भएको जानकारी बैठकलाई गराएका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार ओलीले माधव नेपाल र योगेश भट्टराईसँगको कुराकानीमा नेपाल एकताप्रति इमान्दार नदेखिएको बताएका छन् ।

ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधब नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर, साथीहरूको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन । पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन ।’

ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको भन्दै आफूलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताएका थिए । बैठकमा ओलीले अहिले पनि केही व्यक्ति एमाले कब्जा गर्न सकिन्छ कि भनेर आएको टिप्पणी गरेका छन् ।

ओलीले बैठकमा भने, ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लाग्ने । पार्टीकै नेताहरूविरुद्ध विषबमन गर्ने । सरकारको आलोचना गर्ने । आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन । एमाले खोस्ने हिसाबले कोही आएको छ भने त्यो सम्भव छैन, अब यो पार्टीले हिजोबाट नयाँ उचाइ लिएको छ ।’

आजको बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारवाही, कार्य विभाजन र समसामयिक प्रस्तावमाथि छलफलको एजेण्डा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *