काठमाडौं । कवि तथा गीतकार महेशबाबु तिमल्सिना लिखित कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ प्रकाशित भएको छ । नेपाली तथा अंग्रेजी भाषामा रहेको कविता संग्रहलाई मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरे । सार्वजनिक गरे ।
कार्यक्रममा संग्रह भित्रका कविता वाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियोसमेत देखाइएको थियो । सोही अवसरमा लेखक महेशबाबुको रचना रहेको र रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको भिडियो प्रदर्शन गरियो ।
निकेश खड्का निर्देशित भिडियोमा अजर जंगमको संगीत छ । पुस्तक सार्वजनिकीकरणपछि बोल्दै वक्ताहरुले कविता संग्रहमा विश्वबोध, युगबोध र समाजबोधका बाछिटा महसुस गर्न सकिने धारणा राखेका थिए ।
संग्रहका कवितामाथि टिप्पणी गर्दै प्राध्यापक लक्ष्मण गौतमले भने, ‘ कविताले व्याख्या गर्दैन, संकेत गर्छ । यस मानेमा कविता संग्रहमा देशकाल परिस्थिति अभिव्यक्त गर्ने संकेत जताततै भेट्न सकिन्छ ।’

पुस्तकमाथि कवि महेश पौड्यालले भने कविताको अंग्रेजी सम्पादनमा हतार गरिएका लक्षण भेटिने बताउँदै समग्रमा भने कविता संग्रहमा चोटिला कविताको वर्चस्व रहेको बताएका थिए ।
‘कविमा आदर्शवादको प्रभाव अलि बढी देखिन्छ । यो पाटो बिर्सने हो भने संग्रहमा धेरै घत लाग्ने कविता छन्’ पौडेलको भनाइ थियो ।
कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले भने सर्जकको पहिचान पृथकता हुने धारणा राख्दै कविको रुपमा महेशबाबुका कवितामा बेग्लै शिल्प र शैली देख्न सकिने धारणा राखेका थिए ।
कवि दिनेश अधिकारीले अक्षरको आयु लामो हुने बताउँदै अरु जे पेशा व्यापार गरे पनि अक्षरको साधना गरेकोमा कविलाई धन्यवाद दिएका थिए । त्यसैगरि उनले समालोचकको कुरालाई तौलेर मात्र ग्रहण गर्न पनि सुझाव दिएका थिए ।
कवि तिमल्सिनाले भने आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताउँदै ती भाव कविता हुन् कि होइनन् भनेर निक्र्योल गर्ने काम पाठकको जिम्मामा छाडेको बताएका थिए । नेपालीमा लेखिएका कवितालाई मुक्तिनाथ घिमिरेले अुनुवाद गरेका हुन् । दुई खण्डमा संग्रहित कविता संग्रहलाई कंगारु क्रिएसन्सले प्रकाशन गरेको हो ।

Leave a Reply