माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने

काठमाडौं । नेकपा एमालेले गत पुसमा नेकपा विभाजनपछि बनेका कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रुपमा यथावत राख्ने भएको छ ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेको संगठनात्मक प्रस्तावमा ती कमिटीहरुलाई आम रुपमा यथावत राखिने उल्लेख छ ।

नेकपाको विवादका बेला प्रचण्ड-माधव पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जानेक्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रुपमा यथावत राख्ने । ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’

सोमवारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका छन् । यसअघि नै नेपाल पक्षधर नेताहरु लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत संस्थापन पक्षमा लागिसकेका छन् ।

एमाले बैठकमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना महासचिव पोखरेलले पेस गरेका छन् । नेकपाबाट माओवादी नभई एमाले बनेका तत्कालीन माओवादी सदस्यहरू पनि अब एमालेको सदस्य स्वतः हुने भएका छन् ।

जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीहरुको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने र जनवर्गीय संगठनहरूको पनि पुनर्गठन गर्ने योजना पेस भएको छ ।

Comments

One response to “माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने”

  1. कोमलनाथ खत्री Avatar
    कोमलनाथ खत्री

    पार्टी फुटहुनबाट बचाउनु आज सबै पार्टी नेता तथा कार्यकर्ताको अहम जिम्मेवारी हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *