फ्लोर क्रसपछि शाही भन्छन् : मलाई यही नै मन्त्रालय चाहिन्छ भन्ने छैन

सुर्खेत । कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मत हाल्ने चार एमाले सांसदमध्येका एक हुन् कुर्मराज शाही । एमालेले उनीसहित तीन सांसदलाई साधारण सदस्यतासमेत नरहने गरी निस्काशन गरिसकेको छ ।

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा जन्मेका २०६४ साल र २०७० सालमा प्रतिनिधिसभाको चुनाव हारेका थिए । २०७० सालको निर्वाचनमा आफूलाई हराउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन अहिले उनले भूमिका खेलेका छन् ।

संसद पद गुम्ने जान्दाजान्दै उनी किन फ्लोर क्रस गर्न तयार भए ? यही विषयको सेरोफेरोमा नेपाल प्रेसले शाहीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ :

कालिकोटमा झिनो मतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पराजित हुनु भएको थियो । अहिले उनकै सरकार जोगाउन पार्टीको ह्वीप उल्लंघन गर्नुभयो । के अब माओवादीमै लाग्न आँट्नुभएको हो ?

म माओवादीमा गएको होइन । तत्कालिन नेकपा एमालेको अध्यक्ष केपी बा हुनुहुन्थ्यो । उहाँ माओवादीमा जानुभएको हो । केपीले प्रचण्डसँग एकता गरेपछि मात्रै हामी गएका हौं । हामी उहाँकै पछि लागेका हौं ।

अहिले केपी बाले छोडेर जानुभयो । के कारण छोडनु भयो थाहा भएन । राष्ट्रिय राजनीतिका कुरा परे । उहाँले रातारात दुई पार्टी एक ठाउँ ल्याउने काम गर्नु भएको हो । त्यही आधारमा पार्टी एकता भइ हामी त्यहाँ गएका हौं । हामी मुख्यमन्त्री पछाडी गएका होइनौं ।

त्यसोभए एमाले संसदीय दलको ह्वीप नमानेर फ्लोर क्रस गर्नुभएको किन ?

पहिलो कुरा नेकपा एमालेलाई एकताबद्ध पार्ने हाम्रो उद्देश्य हो । त्यो कर्णालीबाट हामीले सुरुवात गरेका छौं । नेकपा एमालेका केन्द्रीय नेताहरु एक ठाउँमा आउनुपर्छ भन्ने कुराको हामीले संकेत गरेका छौं ।

दोश्रो कुरा सिंगो नेपालको वामपन्थी आन्दोलन एक ठाउँ आउनुपर्छ, एक ढिक्का हुनुपर्छ, अनि हाम्रो आगामी कार्यदिशा समाजवाद हुनुपर्छ भन्ने उद्देश्यका साथ नै हिजो हामीले फ्लोर क्रस गरेका हौं ।

चार जनाले फ्लोर क्रस गरेकै कारण वामपन्थी एकता चाहिँ हुन्छ कसरी ?

हुन्छ नि । पहिला वामपन्थी एकता भएकै होइन र ? नेकपा एमाले र माओवादी एक ठाउँमा ल्याउने को हुन् भन्ने कुरा मैले बारम्बार भन्नै पर्दैन । त्यही एकताकै आधारमा हामी पछि हिडेका हौं । तीन वर्षसम्म हामी निरन्तर एकै ठाउँमा बस्यौं । सरकार सञ्चालन गर्‍यौं । प्रदेश र संघीय सरकार सञ्चालन गर्दै आर्थिक क्रान्तिको आधार हामीले सञ्चालन गर्दै थियौं ।

यो बीचमा उहाँहरुले किन झगडा गर्नुभयो, किन लड्नु भयो हामीलाई थाहा छैन र सूचना पनि आइसकेको छैन । पछि अदालतले विधिवत रुपमा आफ्नो ठाउँमा जाउ भनेर भनिसकेपछि आफ्नो ठाउँमा आयौं । हामीले अदालतको निर्णयलाई स्वीकार गर्‍यौं । तर एमाले एक ठाउँमा आइपुग्दा माधव नेपाललाई केपी समूहले कारवाही गर्ने कारवाही गरेर फाल्नुभो । पार्टीबाट हटाउनुभयो । त्यही हटाएको आक्रोस कर्णाली प्रदेशमा पोखिएको हो ।

हामी के भन्छौं भने अझै पनि एमाले एक बनाउने सम्भावना जीवित छ । एमाले एक बनाउने ढोका खुला छ । कर्णाली प्रदेशमा कुनै पनि समस्या छैन । एमाले एकढिक्का हास भन्ने चाहनाले नै हामीले त्यो काम गरेका छौं ।

तर, तपाईं आफैं कारवाहीमा परिसक्नु भएको छ । पार्टीबाट निश्कासित भएपछि माओवादी कित्तामा जानुको विकल्प नै भएन नि ?

होइन हामी माओवादी कित्तामा गएका छैनौं । त्यसो भए माधव नेपाललाई तपाई कुन कित्तामा गएको भन्नुहुन्छ ? हिजो महाधिवेशनबाट जितेर आएका भीम रावलसहितका नेताहरु कारवाहीमा परेका छन्, उहाँहरु कुन कित्तामा भन्नुहुन्छ ? हामी माधव नेपालका कित्ताका मान्छे हौं । स्पेशल हामी एमालेका मान्छे हौं ।

तपाईहरुले बकाइदा फ्लोर क्रस नै गरेर माओवादी सरकारलाई समर्थन गरेपछि यसले देशभरि नै नकारात्मक प्रभाव पार्ला नि ?

प्रभाव देशभरि नै पार्छ, तर सकारात्मक पार्छ । देशभरि नै उथलपुथल आउँछ । केपी ओली, माधव नेपाल, झलनाथ खनाल एक ठाउँमा आएनन् भने नेपालको सिंगो कम्युनिष्ट आन्दोलन नै धरापमा पर्छ । त्यसो भएको हुनाले एमाले मात्रै होइन वामपन्थी आन्दोलन एक ठाउँमा ल्याउन नेताको अलिकति भए पनि दिमाग फुरोस म यहि आग्रह गर्न चाहन्छु । नभए वामपन्थी आन्दोलन नै समाप्त हुन्छ ।

बल्लतल्ल आर्जेको संसद पद गएकोमा चिन्ता छैन ?

संसद पद भन्ने कुरा ठूलो होइन । वामपन्थी आन्दोलन ठूलो हो । हामीले हिजो कम्युनिष्ट भनेर, वामपन्थी भनेर सपथ खाएका हौं । माननीय पद भनेको जुत्ता हो । आज आउँछ भोली जान्छ यो चलिरहने प्रक्रिया हो । एउटा अध्याय हो त्यो पनि पाँच वर्षका लागि । हामीले आपूmलाई निजामती कर्मचारीजस्तो सोचेका पनि छैनौं ।

हामी जनप्रतिनिधि हौं । जनताको बीचमा राम्रो काम गरेका छौं भने जनताले फेरि पनि भोट हाल्छन् । नराम्रो काम गरेका छन् भने हराउँछन् । हिजोको फ्लोर क्रसपछि जनताले हामीलाई बधाई दिइरहेका छन् । पार्टी एकताका लागि महत्वपूर्ण कदम भनेका छन् । वामपन्थी आन्दोलनलाई एकीकृत गर्नका निम्ति साहस गरेको भनेर प्रशंसा गरेका छन् । एक-दुई जनाले बोल्दैमा केहि हुँदैन ।

तपाईको चानचुन अझै दुई वर्ष कार्यकाल बाँकी रहँदै कारवाहीमा पर्नुभयो, कालिकोटका जनताका लागि यो धोका होइन ?

हामीले त्याग गरेको हो । एमाले भनेर लागेको हो । कम्युनिष्ट भनेर लागेका हौं । पदलाई ठूलो मान्दै मानेका छैनौं । पद आउँछ जान्छ, नेपालको वामपन्थी आन्दोलन जीवित राख्नुपर्छ भनेर लागेका हौं ।

यो पद त हिँडदै जानेक्रममा बाटोमा भेटिएको चीज न हो । हामीले धेरै काम गर्न बाँकी छ । माननीय पद पाउँदैमा समाजवाद आउँछ भन्ने कुनै ग्यारेण्टी छ र ? छैन नी । माननीय पद पाउँला र समाजवाद ल्याउँला भनेर हामी लागेकै होइनौं । समाजवाद ल्याउनका लागि एक कम्युनिष्ट कार्यकर्ता बन्दै हिँडिएको हो । यो ठूलो विषय नै होइन । जनताको विश्वास मैले जितेको छु ।

सरकारलाई भोट दिएको पुरस्कार त पक्कै पाउनुहोला । अब सरकारमा कुन मन्त्री बन्दै हुनुहुन्छ ?

सरकारमा मन्त्री-सन्त्री बन्ने कुरा गौण विषय हुन । मलाई त्यो मतलबको विषय छैन । अहिले नेकपा एमाले एकताबद्ध हुने कि नहुने प्रश्न यहाँनिर छ ।

भनेपछि तपाई मन्त्री पदको लाईनमा हुनुहुन्न ?

मैले भनिहाले नि, हिँडदै जाने क्रममा कुनै चीज प्राप्त गर्न सकिन्छ । त्यो प्राप्त भएन भने पनि केही भएन । मलाई यो वा त्यो मन्त्रालय चाहिन्छ भन्ने छैन । मेरो क्षमता, लगानीले भ्याउँछ भने जुन जिम्मेवारी दिए पनि म काम गर्न सक्छु, तयार छु ।

Comments

2 responses to “फ्लोर क्रसपछि शाही भन्छन् : मलाई यही नै मन्त्रालय चाहिन्छ भन्ने छैन”

  1. Binod Dhakal Avatar
    Binod Dhakal

    ३ करोर सहित अझै मन्त्री पद पनिको आशा हो त क्रान्तिकारी काम्रेडको ?

  2. राम प्रसाद चौलागाई Avatar
    राम प्रसाद चौलागाई

    खै हो कुर्म जी तपाइको यो कामले सकियो कि जोगियो थाहा भएन, तर तपाइको नियत प्रस्ट भयो है! भोट माग्न कसरी आउनु हुन्छ हामी पनि पर्खिराखेका छौं है!

Leave a Reply

Your email address will not be published. Required fields are marked *