स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह दिन विवेकशीलसहित साना १३ दलको माग

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुनमा आवश्यक संशोधन गर्न साना १३ दलले माग गरेका छन्।

विवेकशील साझा पार्टीको आह्वानमा ललितपुरमा शुाक्रबार बसेको साना १३ दलको बैठकले संघीय संसदमा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको भन्दै तत्काल संशोधनको माग गरेका हुन्।

‘कानुनले तोकेका सबै सर्त र मापदण्ड पुरा गरी निर्वाचन आयोगमा दर्ता भई राजनीतिक मैदानमा रहेका र लोकतान्त्रिक पद्धतिअनुरूप प्रतिस्पर्धामा उत्रन चाहने दलका उम्मेदवारलाई आफ्नै दलको चुनाव चिन्ह नदिई स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्न बाध्य पारिनु नेपालको संविधानको धारा ७४ ले प्रत्याभूत गरेको बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाको ठाडो विपरीत रहेको बैठकको ठहर छ,’ बैठकपछि विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकमा विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी कांग्रेस, नेपालवाद पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), आमूल परिवर्तन मसिहा पार्टी, नेपाली कांग्रेस (वीपी) राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी नेपाल, नेपाल परिवार दल, नेपाली जनता दल, नयाँ पिपुल्स पार्टी र आजाद जनता पार्टीका शीर्ष नेतृत्व तथा प्रतिनिधि सहभागी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *