ब्रिटिश गोर्खाले फेरी आन्दोलन गर्ने, सरकारलाई अल्टिमेटमदेखि भोक हड्तालसम्म

काठमाडौं । बेलायती सेनाका भूतपूर्व सैनिकले पुनः आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती र नेपाली नागरिकबीच भइरहेको भेदभावकाविरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले आन्दोलन चर्काउने भएको हो ।

ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति युकेले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी विभेदकारी मुद्दा सँधैको लागि समाधान गर्न नेपाल र ब्रिटिश सरकारको ध्यानाकर्षण गराएको छ ।

पत्रकार सममेलनमा समिति सचिव पुष्पा राना घलेले आगामी मे महिनाको शुरुमै बेलायती सरकारलाई अल्टिमेटम पत्र जाहेर गर्ने र तोकिएको मितिभित्र सकारात्मक जवाफ नआए जुन महिनाको शुरुमा अन्तर्राष्ट्रिय कानूनविदको सम्मेलन गर्ने र जुलाईको पहिलो हप्ताबाट रिले भोक हड्ताल गर्ने बताइन् ।

त्यसपछि पनि आफूहरुका मागहरुको सुनुवाई नभए अर्को बृहत सत्याग्रह गर्ने र अन्तर्राष्ट्रिय निकायमा मुद्दा दायर गर्न बाध्य हुने उनले बताइन् ।

बेलायती सेनाका भूतपूर्व सैनिकले आफ्नो समान अधिकार प्राप्तिका लागि २०१३ मा १५ दिने सत्याग्रह गरेका थिए । २२ मार्च, २०१८ मा संयुक्त प्राविधिक प्रतिवेदन सरकारलाई बुझाएको थियो । नेपाल सरकारले पनि ब्रिटिश सरकारलाई १२ फेब्रुअरी २०२० मा वार्ता गर्न पत्र पठाएको थियो तर ब्रिटिश सरकारले कुनै सकारात्मक कदम नचालेकाले आफूहरु फेरी आन्दोलित हुन बाध्य भएको भूतपूर्व गोर्खा सैनिकले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *