कारबाहीपछि सुरेन्द्र पाण्डेको प्रतिक्रिया- केपी ओली गुटपरस्त मानिस हो

काठमाडौं । आजै मात्र पार्टीबाट निलम्बित नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई गुटपरस्त मानिस भएको अरोप लगाएका छन्।

आफूमाथि गरिएको कारबाहीप्रति प्रतिक्रिया जनाउँदै उनले यसलाई पूर्व नियोजित र अपेक्षित भनेका छन्। ‘यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो,’ सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउदै पाण्डेले भनेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो। गुटबन्दी गर्दैगर्दै गएर नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो।’

यसले कम्युनिस्ट आन्दोलनलाई नै नोक्सान गर्ने भन्दै पाण्डेले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने बताएका छन्। ‘यसले आन्दोलनलाई नोक्सानी गर्छ नै,’ उनको भनाइ छ, ‘एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ। हामी कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौँ । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौँ।’

पाण्डेले चुनावका बेला घोषणा पत्रमार्फत गरिएका बाचाहरू पुरा गर्न थप जुझारू बन्ने बताएका छन् । उनले भनेका छन्, ‘घोषणा पत्र मार्फत गरिएको बाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पुरा गर्नेछौ । थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *