वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं ।  वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा परेको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ ।

आयोगले बिहीबार एक विज्ञप्तिमार्फत् नागरिकहरूलाई  सचेत रहन आग्रह समेत गरिएको छ । प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ वायु गुणस्तर मापन सूचक अनुसार गत आइतबार काठमाडौंमा मापन गरिएको वायुको गुणस्तर ३ सय भन्दा बढी पुगेकाले जेष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगीहरूमा अत्यन्तै जोखिम हुने भएकाले सचेत रहन विज्ञहरूले ध्यानाकर्षण गराएका छन् ।’

जोखिम नियन्त्रण गर्न  कृषि कार्यबाट निस्कने फोहोर जलाउने काममा नियन्त्रण गर्ने र सवारी साधनको प्रयोग सकभर कम गर्न समेत आग्रह गरेको छ ।

पछिल्लो समय नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्यधिक रुपमा देखिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै प्रदूषणबाट बच्न दीर्घकालीन उपाय अपनाउनका निम्ति सरकारलाई ध्यानाकर्षण समेत आयोगले गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *