शिक्षण पेशाप्रति अरुचिकै कारण नेपालको शिक्षा खस्कियो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षण पेशाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सिकाइ आदान-प्रदान तथा आगामी कार्यदिशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए ।

उनले शिक्षक पेशामा आउनेहरू पनि अन्यत्र जागिर पाउने वित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।

उनले भने, ‘हामी राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि शिक्षण पेशामा आउने । शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजीमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यबार चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गासिँएको छ त्यस बारेमा हामी कति गम्भीर र चिन्तित बन्छौैं ?’

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रुपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताए ।

सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ पनि सचेत रहेको मन्त्री श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *