नेपाल भर्सेज बंगलादेश: अन्तर्राष्ट्रिय स्तरको गोल खडेरी आज चिर्ला नेपालले ?

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको खडेरी चिर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गर्‍यो । सन् २०१ं५ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीले ६ वर्षसम्म नेपाली फुटबलको ‘होम’ दशरथ रंगशालामा सिनियर राष्ट्रिय टोलीले खेल्ने मौका पाएन ।

अन्ततः थ्री नेसन्स कपको आयोजनासँगै त्यो खडेरीमा मन्द वर्षा सुरु भएको छ । तर, किगिस्तान यु २३ सँग बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेको नेपाली टोली गोल गर्न असफल रहेको सात खेल पुगिसकेको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध २०१९ को सेप्टेम्बर १० मा अञ्जन विष्टले दुई गोल गरेयता नेपालले सात खेलमा गोल गर्न सकेको छैन ।

अञ्जनले चाइनिज ताइपेईविरुद्धको दोस्रो गोल ६३औं मिनेटमा गरेका थिए । त्यसयता नेपालले ६५७ मिनेटसम्म गोल गर्न सकेको छैन ।

थ्री नेसन्स कपको पहिलो खेलमा किर्गिज युवा टोली (करिब ३० मिनेट १० जनामा सीमित भएको)विरुद्ध गोल गर्न असफल रहेको नेपाली टोलीले आज बंगलादेशी राष्ट्रिय टोलीको सामना गर्दैछ ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिज यु २३ टोलीलाई १–० ले पराजित गरेको बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ । नेपालको फाइनल प्रवेशको सम्भावना उच्च देखिए पनि आजको नतिजा महत्त्वपूर्ण हुनेछ ।

आजको खेलमा जित वा बराबरी नेपाललार्ई फाइनल पुर्‍याउन पर्याप्त हुनेछ भने २–० को फराकिलो हार नेपालका लागि भारी पर्नेछ । यदि बंगलादेश १–० ले विजयी भयो भने पहेँलो र रातो कार्ड महत्त्वपूर्ण हुनेछ ।

नेपालका पछिल्ला सात खेलको नतिजा

२०१९ अक्टोम्बर १० अस्ट्रेलिया ५–० नेपाल
२०१९ अक्टोबर १५ जोर्डन ३–० नेपाल
२०१९ नोभेम्बर ७ म्यानमार ३–० नेपाल
२०१९ नोभेम्बर १९ नेपाल ०–१ कुवेत
२०२० नोभेम्बर १३ बंगलादेश २–० नेपाल
२०२० नोभेम्बर १७ बंगलादेश ०–० नेपाल
२०२१ मार्च २५ नेपाल ०–० किर्गिस्तान यु २३

पहिलो खेलको बराबरीपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध कुनै पनि हालतमा अंक गुमाउनु नुहने बताएका थिए ।

‘बंगलादेशविरुद्ध हामी जितको अपेक्षासहित मैदानमा उत्रिन्छौं,’ उनले पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘आजको खेलमा हामीले गोल गर्न मात्रै सकेनौं, तर खेल उत्कृष्ट थियो । आगामी खेलमा हामी अंकका लागि खेल्छौं ।’

तर, जति नेपाल गोल र नतिजाका लागि आत्तुर छ, त्यति नै बंगलादेश पनि । बंगलादेशी अखबार कालेर कान्थोसँग भ्रमणकारी टोलीका प्रशिक्षक जेमी डेले फाइनल अगाडि आफ्नो टोलीले सुखद् नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

‘खेलाडीहरूले अझै पनि अभ्यासमा मेहेनत गरिरहेका छन् । हामी भोलिको खेलका लागि तयार छौं । पहिलो खेलको तुलनामा नेपालविरुद्ध टोलीमा धेरै परिवर्तन देख्न सकिने छ,’ प्रशिक्षक डेलाई उदृत गर्दै कालेर कान्थोले लेखेको छ, ‘नयाँ खेलाडीहरूलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव लिने मौका दिइनेछ । र, म सुखद् नजितासहित फाइनल पुग्नेमा आशावादी छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *