सहसचिव डा. मुकुन्द पौड्याल सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव डाक्टर मुकुन्द पौड्याललाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एक नम्बरमा सिफारिस भएका सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने ‘प्रधानमन्त्रीले जो एक नम्बरमा छ उसैलाई बढुवा गरौ भन्नुभयो, त्यसै अनुसार एक नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरियो ।’

दुइ दिन अघि मात्र अवकास पाएका लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा समितिले सचिव बढुवाका लागि सहसचिव पाैड्यालसँगै दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन् ।

तेस्रो पटक बढुवा समितिले सिफारिस गरेपछि पौड्याल सचिवमा बढुवा भएका हुन् । सहसचिव पौड्याल अहिले राष्ट्रिय सूचना आयोगमा सचिवको जिम्मेवारीमा छन् । बढुवा भएसँगै अन्य सचिवको सरुवा हेरफेर नभए रिक्त रहेको गण्डकी प्रदेश प्रमुख सचिवमा नियुक्त हुनेछन् ।

यस अघि बढुवा भएर प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेका सुमन अर्याल र लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका भरतमणी सुवेदीको बढुवा सिफारिस हुदाँ पौड्याल नाम पनि सिफारिस भएको थियो । चैत दुइ गते गण्डकी प्रदेश प्रमुख सचिवबाट बिष्णु प्रसाद नेपालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *