हिन्दू राज्य माग्दै जागरण अभियान

रुपन्देही । नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भन्दै विश्व हिन्दू महासंघले जागरण अभियान शुरु गर्ने भएको छ । महासंघले आगामी वैशाख ८ गतेदेखि मेची–महाकाली हिन्दू जागरण अभियान शुरु गर्ने भएको हो । विभिन्न अभियान र आन्दोलनमार्फत नेपालमा हिन्दू राष्ट्र स्थापनाका लागि अन्तिम र शक्तिशाली दवाव दिइने महासंघको दावी छ ।

चैते दशैंको रामनवमीबाट शुरु गरिने मेची–महाकाली जागरण अभियानअन्तर्गत नेपालमा सनातन हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सशक्त प्रदर्शन गर्ने, जनचेतना जगाउने, प्रचार–प्रसार गर्ने र हिन्दूहरुको एकता कायम गर्ने उद्देश्यले जागरण अभियान संचालन जनाइएको छ ।

नेपालमा सनातन हिन्दू राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी रुपमा सशक्त र शान्तिपूर्ण आन्दोलनको आवश्यक्ता रहेको महासंघको दावी छ । सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकार र राजनैतिक दलहरुलाई दवाव दिने उद्देश्यले पूर्व मेचीदेखि महाकालीसम्म यस्तो कार्यक्रम आयोजना गरिएको विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले बताए ।

विश्वकै प्राचीन एवं वैज्ञानिक भाषा संस्कृतलाई आगामी शैक्षिक सत्रदेखि नै विद्यालयको पाठ्यक्रममा अनिवार्य विषयका रुपमा समावेश गर्न सरकार समक्ष माग गर्ने उनले बताए ।

खरालले हिन्दू ॐकार परिवार र सबै नेपालीहरुलाई हिन्दू राष्ट्र बचाउन र पुनः हिन्दू राष्ट्र घोषणा गर्नका लागि सबैको पहल आवश्यक भएकाले जागरण अभियान संचालन गर्न लागेको जानकारी दिए । देशमा हराउदै गएको नैतिकता, इमानदारिता, अनुशासन र कर्तवय कर्मबोधलाई बलियो बनाउन विश्व विद्यालयका पाठ्यक्रममा श्रीमद्भगवद्गितालाई समावेश गर्न दवाव दिने खालको जागरण आवश्यक्ता रहेको अर्का वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेलले दावी गरे ।

विश्व हिन्दूको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दधिराम शर्मा बस्याल, केन्द्रीय सदस्य दिपक थापा, डा. बाबुराम ज्ञवाली, महिला समितिका अम्बिका पौडेल, कार्यालय सचिव उर्मिला श्रेष्ठ लगाएतले बोल्दै हिन्दू राष्ट्र बचाउनका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने बताएका थिए ।

समाजमा विद्यमान विभेद र जातीय छुवाछुत अन्त्य गर्नका लागि समेत सबै हिन्दूहरु एक हुनुपर्ने र अहिलेको अभियान सफल बनाइने महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले बताए । विश्व हिन्दू महासंघ २०३७ सालमा सबै ॐकार परिवारहरुको छाता संगठनका रुपमा स्थापित भएकाले सबै हिन्दुहरुको प्रतिनिधित्व हुने महासंघको दावी रहेको छ ।

Comments

One response to “हिन्दू राज्य माग्दै जागरण अभियान”

  1. kashinath Mainali Avatar
    kashinath Mainali

Leave a Reply

Your email address will not be published. Required fields are marked *