भारतमा कोरोना संक्रमित बढेसँगै सीमानाकामा निगरानी बढाइयो

रुपन्देही । भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमित बढ्न थालेपछि रुपन्देहीको सीमा क्षेत्रमा निगरानी बढाइएको छ । संक्रमण बढेसँगै भारतबाट फर्कने नेपाली बढ्न थालेपछि निगरानी पनि बढाइएको हो ।

भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा कडाइ गरेको छ भने केही स्थानमा रात्रिकालीन कर्फ्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेशलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।

रुपन्देहीमा यस क्षेत्रकै ठूलो नाकाको रुपमा रहेको बेलहिया नाकाबाट धेरै नागरिक ओहोरदाहोर गर्ने भएकाले निगरानी बढाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतमा संक्रमित बढ्न थालेपछि रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमा क्षेत्रमा जोखिम बढेको हो । यो जोखिमलाई कम गराउन नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ । संक्रमण नेपालमा पनि भित्रन सक्ने सम्भावना भएकाले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ ।

सीमा क्षेत्रमा नेपाल आउने यात्रुहरुका लागि भने कुनै सावधानी नअपनाइएको भन्दै आलोचना बढेपछि स्वास्थ्य कार्यालय तथा प्रशासनलले पहल थालेका हुन् ।

स्वास्थ्य कार्यालयकै पहलमा सीमा क्षेत्रमा २ वटा टेन्ट निर्माण भएको छ । जहाँ सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

भारतबाट नेपाल आउने शंकास्पद विरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परीक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिए । ‘भारतमा संक्रमण बढेसँगै सक्रियरुपमा हेल्थ डेस्कबाट जाँच बढाउन लागेको र पोजिटिभ देखिए आइसोलेटेडका लागि क्वारेन्टाइनमा राखिने छ ।’ उनले भने ।

होलीमा भीडभाड नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि नजिकै आइरहेको होलीमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन रुपन्देहीले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट २०७७ चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्न/गराउन आग्रह गरेको छ ।

प्रशासकीय अधिकृत जनक थापाले खुला सीमानाका कारण बढ्नसक्ने संक्रमण रोक्न सबैलाई आग्रह गरेका छन् ।

 

 

Comments

One response to “भारतमा कोरोना संक्रमित बढेसँगै सीमानाकामा निगरानी बढाइयो”

  1. karuna shrma dulal Avatar
    karuna shrma dulal

    pahile gareko galti aba ndohoriyos simana ma jaach garer bhittri ye pani 10/15 din aafnai gharma alag basne kuraa kadaaika saath laagu gariyos

Leave a Reply

Your email address will not be published. Required fields are marked *