मेयर शाक्यको गुनासो- माटोको टीका लगाउने अभियन्ताले सम्पदामा फोहोरी राजनीति गर्दैछन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्बन्धमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलका क्रममा मेयर शाक्यले केही व्यक्तिले हरेक कुरामा राजनीतिकरण गर्न थालेको बताए ।

‘काठमाडौं महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने र लागत समेत बढी राज्यलाई करोडौं घाटा हुने गरेको छ,’ शाक्यले भने, ‘अख्तियार र अदालतलाई समेत दिग्भ्रममा पारी दुरुपयोग गर्न खोज्ने व्यक्तिलाई कारवाही वा क्षतिपूर्तिको व्यवस्था नहुँदा उनीहरू थप प्रोत्साहित हुने गरेका छन् । त्यस्तो प्रवृत्तिलाई न्यायलय र अख्तियारले निरुत्साह नगर्ने हो भने समृद्धिको यात्रा कठिन छ ।’

मेयर शाक्यले हरेक काममा भाँजो हाल्न पन्ना लेखेर अदालत गुहार्ने अनि उनीहरूकै कारण राज्यले ठूलो क्षति व्यहोर्ने अवस्था रहिरहने हो भने राज्य निरीह र उनीहरू झन प्रोत्साहित हुने बताए । शाक्यले भने, ‘मुद्दा मामिलाका कारण राज्यको जति क्षति भएको हो त्यति नै क्षतिपूर्ति उनीहरूलाई तिराउने व्यवस्था अदालतले गर्‍यो भने मात्रै अदालतलाई पनि हलुङ्गो हुन्छ ।’

अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुनर्निर्माणको लागत करीब ६ करोड बढेको स्मरण गराउँदै मेयर शाक्यले व्यक्तिगत र राजनीतिक स्वार्थ राखी निर्माण कार्यमा अवरोध गर्दा लागत बढी राज्यलाई ठूलो नोक्सानी हुने बताए ।

शाक्यले भने, ‘नेपाली बृहद् शब्दकोषमा अभियन्ताको अर्थ इन्जिनियर हुने रहेछ । तर, यहाँ आफ्नो पहिचान लुकाएर नागरिक अभियन्ता भन्दै अख्तियार र न्यायलयलाई भ्रममा पारी २ पानामा लेखेर उजुरी गरी काम रोक्ने प्रवृत्ति हावी भएको छ । यी रोकिएका कामका कारण बढेको लागत र यसले सरकारी सम्पत्तिमा परेको घाटा कसले व्यहोर्छ ?’

मेयर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा पनि यस्तै प्रयास भइरहेको बताए । निर्माणको काम करीब अन्तिम चरणमा पुगेको बेला अभियन्ताका नाममा केहीले राजनीति गरेको बताए ।

पहिचान लुगाएर आन्दोलन
अहिले पनि कमलपोखरीमा आफ्नो पहिचान लुगाएर आफूलाई नागरिक अभियन्ता भन्दै महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाउन लाग्यो भनेर नागरिकलाई नै दिग्भ्रममा पार्ने र भ्रामक प्रचार गरेर केहीले आफ्नो स्वार्थ पूरा गरिरहेको शाक्यले बताए ।

उनले भने, ‘कमलपोखरीका स्थानीय र समग्र महानगरबासीलाई अन्योलमा पार्न प्लेकार्ड बोक्ने, कविता वाचन गर्ने, माटोको टीका लागाउने जस्ता कार्य केही व्यक्तिले गरिरहेका छन् । उनीहरूलाई कमलपोखरी कंक्रिटको बनिरहेको छैन भन्ने राम्रो जानकारी छ । तर, उनीहरुले बुझ बचाएर भ्रामक प्रचार गरिरहेका छन् ।

हामीले खबरदारी गरेकाले कंक्रिटको पोखरी निर्माण हुनबाट बच्यो भन्ने भ्रम छर्न बदनियतपूर्ण ढंगले आन्दोलनको नाटक गरेको पनि मेयर शाक्यले बताए ।

कमलपोखरी नदेखेका र नबुझेकाहरूलाई आफ्नो स्वार्थ पूरा गर्न डियर मेयर भन्दै ‘प्ले कार्ड’ बोकाएर, माटोको टीका लगाउन लगाएर भ्रम फैलाउने काम गरिएको उनले आरोप गलाए ।

छलफलका क्रममा न्यायाधीश खतिवडाले उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशहरू जिल्ला अदालतको निरीक्षणमा आउँदा आफूले यो कुरा राख्ने बताए । त्यस क्रममा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उजुरी दर्ता गर्दै प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृत कसले हेर्ने हो, छुट्याएर  दर्ता गर्ने गरेको जानकारी दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, न्यायिक निरुपण गर्ने स्थान व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *