पोखरा विमानस्थलबाट सेनाको नक्कली सहायक पक्राउ

कास्की । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन् ।

सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकोले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको थियो ।

उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र, फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट, मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि बरामद भएको छ ।

उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *