गोपी र सन्तोषीलाई टेन-के रोड रेसको उपाधि

काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका छन् ।

शनिबार बिहान भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषीले लगातार दोस्रो पटक वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका हुन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे । उनले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिसँगै गोपीले ६० हजार नगद पुरस्कार पाए ।

पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डकाका दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो संस्करणको भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेण्डमा दोस्रो भइन् । एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौं स्थान हात पारे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *