डा.राजन भट्टराईको प्रश्न– उहाँहरु ४० प्रतिशत पुर्‍याउन एमालेमा आउनुभएको हो ?

काठमाडौं । नेकपा एमाले ब्युँतिएपछि फेरि एकैठाउँमा आइपुगेका दुई पक्षबीच विश्वासको संकट देखिन थालेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग संवाद नै गर्न नचाहेको भन्दै माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरुको बेग्लै बैठक गरेपछि संस्थापन पक्ष सशंकित भएको हो ।

बुधबार नयाँबानेश्वरको अर्याल इन्टरनेशनल होटलमा माधव नेपाल पक्षले बैठक बसेर केपी ओलीले पेल्ने नीति लिएमा प्रतिवाद गर्ने र समानान्तर कमिटीको अभ्यासमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।

माधव नेपाल पक्षको भेलाबाट संस्थापन पक्ष भने सतर्क बनेको छ । हिजो ओलीलाई कारबाहीको घोषणा गरेर प्रचण्ड पक्षमा लागेका नेताहरु आज पुनः एमालेभित्र सोही खेलमा लाग्ने आशंका हुन थालेको ओली निकट नेताहरुले बताउन थालेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एमाले ब्युँतिएको पाँच दिन पुगिसक्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग संवाद नगरेका कारण नेपाल पक्ष सशंकित छ । के प्रधानमन्त्रीले माधव नेपाल पक्षलाई विश्वासमा लिएर जान नखोजेको हो ?

पुनःस्थापित नेकपा एमाले अहिले पनि अदालतबाट बदर भएको विभाजित नेकपाकै अवस्थामा छन् । प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य डा.राजन भट्टराईले हिजो केपी ओलीका सन्दर्भमा प्रचण्डसँग मिलेर गरेका कारबाही र मान्यताहरुको विषयमा माधव नेपाल पक्ष पहिले प्रष्ट हुनुपर्ने बताएका छन् ।

डा.भट्टराईले नेपाल प्रेससँग कुरा गर्दैै एमाले ब्युँतिएपछि पनि पेरिसडाँडामा माओवादी केन्द्रसँगै स्थायी कमिटी बैठक गरेर छुट्टिने, माओवादी नेताहरुले ४० प्रतिशत पुर्याएर नेपाल पक्ष पुनः एमालेबाट फर्किने जस्तो अभिव्यक्ति दिएको सन्दर्भमा धेरै कुरा प्रष्ट हुन बाँकी रहेको बताए ।

एमालेलाई मिलाएर लैजाने दायित्व अध्यक्षको हिसाबले केपी ओलीको भएकाले अबको भूमिका के हुन्छ ? भन्ने सन्दर्भमा एमाले नेता तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. भट्टराईलाई हामीले प्रश्न सोध्दा उनले यस्तो जवाफ दिए ।

पहिलो कुरा उहाँहरु सर्वोच्च अदालतको फैसलापछि यता आउने भन्नुभएको छ । प्राविधिक हिसाबले अदालतको फैसलापछि आउने कुरालाई अन्यथा मान्नुभएन । आउने साथीहरुलाई स्वागत गर्नुपर्छ, आउने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । तर सँगसँगै उहाँहरुले पनि प्रष्ट पार्नुपर्ने विषयहरु छन् ।

उहाँहरुले प्रष्ट पार्नुपर्ने कुराहरु के हुन् त ?

हिजो जे जे ठाउँमा उहाँहरु उभिनुभएको थियो ,केपी ओलीको बारेमा जे लिखित मौखिक अभिव्यक्तिहरु दिनुभएको थियो, ती अभिव्यक्तिहरुका बारेमा उहाँहरुको स्पष्ट धारणा बाहिर आइसकेको छैन ।

उहाँहरु खाली अदालतले फैसला गरेका कारण आउनुपर्ने भयो भनेर आइदिनुभएको हो कि हिजोका मान्यताहरुको बारेमा पनि पुनर्विचार गरेर जान तयार हुनुभएको हो ? उहाँहरु हिजोका मान्यताहरुलाई यथावत् राखेर, अदालतले प्राविधिक हिसाबले जोडिदिएको भएर जोडिन आउनुभएको हो भने त्यसको एकखालको परिस्थिति र वातावरण बन्छ ।

अहिलेसम्म उहाँहरुको गतिविधिले अदालतको फैसलाको बाध्यात्मक अवस्थाले जोडिन आएको हो कि जस्तो मात्रै देखिएको छ । अरु विषयमा हिजो उहाँहरुले गरेको कुराको समीक्षा गरेको पाइएको छैन ।

दोस्रो कुरा, नेकपा एमाले हिजो जे अवस्थामा थियो, अथवा हिजो नेकपा हुँदा जुन खालको भोगाइ हामीले भोग्यौं फेरि त्यो हो भने काम छैन । हिजो नेकपामा पार्टीका अनधिकृत बैठकहरु बस्ने (खुमलटारमा), समीकरण र गुट बनाउने अनि समूहबन्दीबाट एउटा निर्णय गराउने अभ्यास उहाँहरुले गर्नुभयो ।

अहिले उहाँहरुले ‘एमाले भयौं हामी’ भनिरहँदा पनि त्यही बाटो समातिरहेको र कुरा गरिरहेको देखिन्छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले अहिलेसम्म आफ्नो पक्षको भनेर कुनै पनि बैठकहरु नगरिरहेको अवस्थामा उहाँहरु हाम्रा पक्षका यति हौं भनेर बैठक बसिरहनुभएको छ ।

त्यति मात्र होइन, अदालतको फैसलापछि पनि उहाँहरु पेरिसडाँडामै बैठक बसेर माओवादी केन्द्रसँग कुराकानी गरेर आउनुभएको छ । कतिपय मान्छेहरुका अहिले अभिव्यक्ति के देखिन्छन् भने ‘४० प्रतिशत पुगेन, हामी ४० प्रतिशत पुर्याएर फर्केर आउँछौं भन्नुभएको छ’ उहाँहरुले भन्ने कुरा आएका छन् ।

यो व्यवहारले उहाँहरु मान्यताका हिसाबले भन्दा पनि सर्वोच्च अदालतको फैसलाको बाध्यात्मक अवस्थाले यहाँ आएको हो कि भन्ने परेको छ । यस विषयमा त प्रष्ट हुन अलिकति समय लाग्छ होला ।

प्रधानमन्त्रीले उहाँहरुसँग बैठकभन्दा अगाडि छलफल गर्ने सम्भावना छैन ?

त्यो त प्राविधिक कुरा हो । छलफल हुन पनि सक्छ अथवा बैठक नै आह्वान हुनसक्छ । प्रधानमन्त्रीले बैठक बोलाउने भनेर बोलिसक्नुभएको छ । बैठक बोलाउनुहुन्छ । कोसँग छलफल गर्ने भन्ने गौण पक्ष हो, प्रमुख पक्ष चाहिं राजनीतिक कुरा नै हो ।

माधव नेपाल पक्षले बैठक बालुवाटारमा बोलाइयो भने नजाने भन्नुभएको छ, केन्द्रीय कमिटीको बैठक कहाँ बस्छ ?

अब त्यो उहाँहरुको कुरा हो । बैठक कहाँ बोलाउने भन्ने कुरा अध्यक्ष र महासचिवले बैठकको मिति र स्थान तय गर्नुहुन्छ । यहाँ बसे हुने, त्यहाँ बसे नहुने भन्ने कुराको मापन हुँदैन । बैठक जहाँ सहज र सजिलो हुन्छ त्यहाँ बस्छ ।

एमालेको महाधिवेशन र अन्य कमिटीका अधिवेशनहरुबाट निर्वाचित बाहेक एकजना पनि थपियो भने मान्दैनौं भन्ने उहाँहरुको कुरा आयो, यसबीचमा माओवादी नेताहरुसँग प्रधानमन्त्रीको संवाद चलिरहेको छ, यसले त समस्या ल्याउने भयो नि ?

मेरो विचारमा अहिले हाम्रो पार्टीभित्रको नयाँ परिस्थितिले धेरै फरक स्थिति उत्पन्न गरेको छ । हिजोको अवस्थामा नेकपा एमाले छैन । जस्तो कि उहाँहरु यो बीचमा हिजो पूर्वमाओवादीतर्फ जानुभएको थियो । पूर्वमाओवादीमा रहेका धेरै साथीहरु यहाँ नेकपा एमालेभित्र आउनुभएको छ ।

यता उभिनुभएका साथीहरुलाई समायोजन गरेर अगाडि जाने चुनौती हाम्रो सामु छ । त्यो चुनौतीलाई हाम्रा विद्यमान व्यवस्थाअनुसार कसरी उहाँहरुलाई समायोजन गरेर गरेर जाने भन्ने कुरालाई हामीले सम्बोधन गर्नुपर्छ । अहिले प्रधानमन्त्रीको ध्यान त्यसमा केन्द्रित छ ।

तर पनि एमालेलाई मिलाएर लैजाने दायित्व पनि त प्रधानमन्त्रीकै हो नि ?

प्रधानमन्त्री त सबैलाई मिलाएर लैजान हिजो पनि तयार हो र आज पनि तयार नै हो । तर पार्टीलाई बलियो बनाएर जाने कुरामा सबैको ध्यान केन्द्रित हुनुपर्यो । यहाँभित्र आएर फेरि पनि व्यक्तिगत र गुटगत शक्ति आर्जन गर्न खोजिएको भन्ने आभास कसैले पनि दिनुहुँँदैन । त्यसो गर्दाखेरि फेरि पनि एकताको वातावरण बन्दैन ।

फेरि पनि फु्ट्न सक्ने हो नेकपा एमाले ?

त्यो त उहाँहरुका गतिविधि र अभिव्यक्तिले देखाउँछ । उहाँहरुका कतिपय अभिव्यक्तिहरु र हिजो उहाँहरुले गरेका गतिविधिले के संकेत गर्छ ? त्यति मात्र होइन, हिजो उहाँहरुले जहाँ छोडेर आउनुभयो (पेरिसडाँडा) पूर्वमाओवादीका साथीहरुले अहिले सार्वजनिक रुपमै व्यक्त गरिरहनुभएको छ त ।

उहाँहरु ४० प्रतिशतका लागि एमालेमा जानुभएको हो र ४० प्रतिशत पुर्याएर फर्किनुहुन्छ भनेर भनिरहनुभएको छ । यी विषयले त त्यतैतर्फ देखाउँछ । यी आशंकाको अवस्थालाई अन्त्य गर्ने जिम्मेवारी त उहाँहरुको होला नि ।

पार्टी एक हुने कि नहुने भन्ने केपी ओलीको हातमा छ भन्ने उहाँहरुको निष्कर्ष छ नि ?

केपी ओलीले त नेकपा एमाले जोगाएर यहाँसम्म लिएर आउनुभएको छ । यसलाई निरन्तर अघि बढाउने काम उहाँले गर्नुहुन्छ । अब विभाजन गरेर त माओवादीमा केपी ओली गएको होइन । विभाजन गरेर अर्को पार्टीसँग मिलेर विग्रह ल्याउने काम केपी अ‍ोलीले गरेको हो र ? केपी ओलीले एकता गरेको हो र एकतालाई जोगाउने प्रयास गरेको हो ।

एकतालाई जोगाउने प्रयास उहाँले गर्दा विग्रहको बाटोमा उहाँहरु भिड्नुभयो । त्यसो भएको हुनाले,उहाँहरु विभाजन र विग्रह गर्ने अनि अर्कोलाई दोष लाउने कुराको अर्थ हुन्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *