एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीम रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । कर्ण थापाको निर्देशनमा केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भएको उनको दाबी छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा रावलले घटनामा संलग्नलाई कारबाही नगरिए उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए । घटनाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि सूचित गराएको उनले जानकारी दिए ।

‘सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि आज बिहान साढे ११ बजे, अकस्मात्, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाइएको थियो । पाँचवटा कुर्सी भाँचेका छन्’, रावलले भने ।

उनले थपे, ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको अर्का व्यक्तिले पनि हाम्रा साथीलाई आक्रमण गरे । म यो घटनाको निन्दा गर्छु । आज गुण्डागर्दी कर्ण थापाबाट भएको हो । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’

कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी रावलले गरे ।

उनले भने, ‘तर, आज त्यहाँ उनी गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस् भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साइनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो ।’

उनले यसरी नै गुण्डागर्दी, अराजकता, मनपरीतन्त्र गर्ने हो भने आफूहरुले पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । सबैले हिजोको नकारात्मक कुराबाट शिक्षा लिनुपर्ने पनि उनले बताए ।

‘अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग–अलग भएको अवस्थामा लेखराज भट्टलाई इन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ?’ रावलले प्रश्न गर्दै भने, ‘कसैको साइनबोर्ड तोडेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु । हाम्रो सुरक्षा हामी आफैं गर्छौं भनेको छु । हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु । कम्युनिष्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ । एमालेलाई पनि चकनाचुर गर्छौं भन्ने हो भने बेग्लै कुरा। यसमा प्रधानमन्त्रीको पनि ध्यान जानुपर्छ ।’

उनले आफू सुदूरपश्चिम संयोजक भएको बताए ।

‘हिजो सुदूरपश्चिम प्रदेशको म नै संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिइएको थियो । म स्वतः संयोजक हुँ । एमालेले सुदूरपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हासिल गरेको हो ।’

Comments

One response to “एमालेको सुदूरपश्चिम संयोजक स्वतः म हुँ, कर्ण थापाले गुण्डागर्दी गरेः भीम रावल”

  1. Jaya Gurung Avatar
    Jaya Gurung

    अनि सुदुरपश्चिम पार्टी कमिटीको कोष बाट डकैती सैलिमा झिकेको ३० लाख पैसा भिम रावलले फिर्ता गर्नु पर्छ कि पर्दैन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *