३७ वर्षअघि चोरेर लगिएको मूर्ति अमेरिकाले नेपाललाई फिर्ता दियो

वासिङ्टन- ३७ वर्षअघि नेपालबाट चोरेर अमेरिका लगिएको एउटा प्राचिन मूर्तिलाई अमेरिका सरकारले नेपाललाई फिर्ता गरेको छ । सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव-कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) उपसहायक निर्देशक टिमोथी एन ड्युनह्यामले राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरे ।

वासिङ्टनस्थित नेपाली दुतावासमा आयोजित समारोहमा मूर्ति हस्तान्तरण गरिएको हो । दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो। त्यसलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा गरेर राखिएको थियो।

उक्त मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ। ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको विश्वास गरिएको छ ।

सो मूर्ति सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैधरुपमा अमेरिका ल्याइएको बताइन्छ,’ दूतावासले उल्लेख गरेको छ । मूर्तिलाई युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पुरा गरी नेपाल ल्याइने दूतावासले जनाएको छ।

मूर्ति हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राजदूत खतिवडाले सो मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा अमेरिकी सरकारको प्रशंसा गरे ।

‘यो महत्वपूर्ण कलालाई नेपालस्थित आफ्नो पुरानो ठाउँमै पुनर्स्थापना गर्नका लागि अमेरिकी सरकारले गरेको सहयोगप्रति राजदूत खतिवडाले आभार व्यक्त गर्नुभयो,’ दूतावासले भनेको छ, ‘साँस्कृतिक सम्पदाको संरक्षणमा दुई देशबीच भएको यो सहयोगले दुई मुलुकबीच रहेको बहुपक्षीय तथा दीर्घकालीन सहयोगलाई थप बलियो बनाउने उहाँले बताउनुभयो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *