विप्लवले हतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्छ: कमल थापा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन्।

शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

पूर्व उपप्रधानमनत्रीसमेत रहेका अध्यक्ष थापाले राप्रापासहित सबै शक्तिबीच सर्वपक्षीय गोलमेच सम्मेलन गरी सधैका लागि स्थायी व्यवस्था कायम गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी भएर बाच्न गाह्रो हुने बताउँदै देशी र विदेशी शक्तिहरु राष्ट्रवादीहरुलाई देख्न पनि नचाहेको धारणा राखे ।

प्रजातन्त्रको मेरुदण्ड सञ्चारजगत भएको उल्लेख गर्दै सञ्चारजगत बलियो भएमात्र प्रजातन्त्र बलियो हुने थापाको भनाइ थियो । कसैको दवाव र प्रभावमा नपरी स्वतन्त्र र सत्यको आधारमा निष्पक्ष पत्रकारिता गर्न थापाले आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *