चेकजाँचका नाममा नेपाली महिलामाथि भारतीय एसएसबीको दुर्व्यवहार

रूपन्देही । चेकजाँचका नाममा नेपाली महिलाले लगाएको कपडा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले च्यातिदिएपछि बेलहियावासी आन्दोलित भएका छन् । उनीहरुले नाका संचालन गर्न नदिने गरी आन्दोलनमा उत्रने बताएका छन् ।

यस विषयमा आज दुवै पक्षका सुरक्षा निकायका अधिकारीहरु बसेर छलफल गरिने प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए ।

बुधबार साँझ महिलामाथि दुर्व्यवहार भएपछि नेपाली पक्षले बेलहिया सीमा नाका घेराउ गरेका थिए। सीमा नाका वेलहिया बुधबार साँझ तनावग्रस्त बनेकाे थियाे । सयौंको सङ्ख्यामा स्थानीय सीमा नाका बेलहियामा जम्मा भएर नाका पूर्ण रुपमा बन्द गरेका थिए ।

बजार गर्न भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा बेलहियाकी एक महिला माथि भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेका कारण सीमा नाकामा स्वतस्फूर्त जम्मा भएर नाका बन्द गरेको स्थानीय उज्वल पोखरेलले जानकारी दिए।

भारतीय सुरक्षाकर्मीले ती महिलामाथि साँझ अभद्र व्यवहार गरेको आरोप स्थानीयकाे छ । स्थानीयको सङ्ख्या बढेपछि सीमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तैनाथी बढाइएको छ भने भारतीय सुरक्षाकर्मी पनि थपिएका छन् ।

‘चेकजाँच गर्ने क्रममा कपडा च्यातिएको रहेछ, त्यो जाने बुझेर च्यातियो कि कसरी च्यातियो त्यो खुलेको छैन, छलफल चलिरहेको छ’ रुपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले भने, ‘यसको छलफल तथा छानबिन हुँदैछ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *