विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन्।

सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।
मन्त्री गुरुङले भने, ‘सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ। त्यही दृष्टिकोणका आधारमा आजको वार्ता टोली गठन गरिएको हो।’
प्रतिबन्ध नहटाई वार्ता टोली किन बनाइएको हो भन्ने प्रश्नमा मन्त्री गुरुङले ती सबै वार्ताकै क्रममा टुंगो लाग्ने जानकारी दिए । ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ’ उनको भनाइ छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस्। उहाँको हतियारको कुरा होस्। यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *