सुर्खेत। कर्णालीको एक मात्र सुगम नगरपालिका वीरेन्द्रनगरले दलित समूदायका दश जना छात्र एवम छात्रालाई प्रति विद्यार्थी पचास हजारका दरले प्राविधिक शिक्षामा छात्रवृत्ति दिने भएको छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ मा यस शीर्षकका लागि पाँच लाख रुपैंया विनियोजन गरेको थियो । सो पाँच लाखबाट तीन वर्षे प्राविधिक शिक्षा अन्र्तगत पहिलो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति अध्यक्ष यमुना नेपालीका अनुसार दलित समूदायका छात्र तथा छात्रालाई सीपमूलक, प्राविधिक क्षेत्रमा अध्ययन गर्न प्रोत्साहन मिलोस भन्ने धारणाका साथ यो कार्यक्रम ल्याइएको हो ।
‘अहिले पनि सबैभन्दा पछि परेको समुदाय भनेकै दलित समूदाय हो । आर्थिक अवस्था न्यून भएका, प्राविधि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो अवसर हुनसक्छ ।’ उनी भन्छिन्, ‘यस्ता कार्यक्रमबाट दलित समूदायका अन्य विद्यार्थीहरु पनि प्राविधिक शिक्षाातर्फ अग्रसर हुने आशा हामीले राखेका छौं । सोही आशा र अपेक्षा अनुसार यो कार्यक्रम ल्याइएको हो ।
यता, नगरपालिकाले छात्रवृत्ति लिन चाहनेका लागि दरखास्त आव्हान गरेको छ ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जारी गरेको सूचना अनुसार प्राविधिक तथा व्यावसाियक तर्फ डिप्लोमा प्रथम सेमेष्टारमा अध्ययनरत हुनुपर्ने, वडा शिक्षा समितिको सिफारिस राख्नुपर्ने, गरिब परिवारका विद्यर्थीलाई प्राथमिकता दिइने, अध्ययनरत विद्यालय वा प्राविधिक शिक्षालयको सिफारिसक चाहिने, घरजग्गाको लालपुर्जाको फोटोकपी राख्नुपर्ने, नागरिकता र एसईइ सर्टिफिकेट र बसाई सराई गरेको भए सो को प्रमाणित प्रतिलिपि राखेर आगामी पन्ध्र दिनमा दरखास्त दिनुपर्ने सूचना जारी भएको छ ।

Leave a Reply