प्रबल गुरुङसहितका फेसन डिजाइनरद्वारा ‘स्टप एसियन हेट’ अभियान थालनी, एसियाली कलाकारमाथिको आक्रमण रोक्न आग्रह

काठमाडौं । पछिल्लो साता अमेरिकामा बढिरहेको एसियाली मूलका नागरिकमाथिको हिंसाको विपक्षमा हलिउड फेसन डिजाइनर प्रबल गुरुङसहितका कलाकार एक भएका छन् ।

गुरुङको नेतृत्वमा एसियाली फेसन डिजाइनर एवं कलाकार संगठित भएर हिंसाको विरोधमा उत्रिएको सीएनएनले जनाएको छ । अहिले इन्स्टाग्राम, ट्वीटर र फेसबुकमा ‘स्टप एसियन हेट’ ह्यासट्यागसहितको ट्रेन्ड चलिरहेको छ ।

जनवरी यता अमेरिकामा एसियन–अमेरिकन समुदायमाथि आक्रमणका घटना बढिरहेका छन् । चिनियाँ नयाँवर्षको बिदामा सबैभन्दा बढी आक्रमण भएको उल्लेख छ । सनफ्रान्सिस्कोमा मर्निङ वाकमा निस्किएकी ८४ वर्षिया थाइल्यान्डकी आप्रवासी १९ वर्षे एक अमेरिकी किशोरको आक्रमणबाट मारिएकी थिइन् ।

ओकल्यान्डमा अर्का एक एसियाली आप्रवासी घाइते भएका छन् । क्यालिफोर्नियाको सान जोसमा ६४ वर्षिया भियतनामी महिला लुटिएकी थिइन् । भाइरस महामारी सुरु भएपछि आक्रमणको निशानामा एसियन अमेरिकन परेपछि अधिकारवादीले चिन्ता व्यक्त गरेका छन् ।

हिंसाको विरुद्धमा नेपाली मूलका फेसन डिजाइनर गुरुङसहित फिलिप लाम र अलुएर म्यागजिनका प्रधान सम्पादक माइकल ली लगायतका उत्रिएका छन् । उनीहरुले सामाजिक संजालमा वर्ण विभेद अन्त्य हुनुपर्ने माग गरेका छन् । फेसन डिजाइनर अफ अमेरिकाका सदस्य समेत रहेका गुरुङले आक्रमण रोक्न माग गरेका छन् ।

‘समान विश्वको परिकल्पना गर्ने हो भने हामी वर्णभेद विरोधी हुनु जरुरी छ’ प्रबलले इन्स्टाग्राममा लेखेका छन्, ‘एन्टी–रेसिजम ह्यासट्याग मात्र होइन, जीवनभरको एउटा प्रतिबद्धता पनि हो ।’ उनले कुनै खालको घृणात्मक आक्रमणविरुद्ध शुन्य सहनशिल हुने पनि उल्लेख गरेका छन् ।

कुनैबेला आप्रवासीको रुपमा अमेरिका पुगेका गुरुङले केही वर्ष अगाडिको न्यूयोर्क फेसन वीकमा अमेरिकामा आप्रवासी हुनुको पहिचनको थीममा फेसन डिजाइन पनि गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *