झपट रावलको आरोप- वहुमत पक्षलाई सूर्य चिन्ह नदिन आयोग अघि बढ्दैछ

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगको भूमिका शंकास्पद रहेको बताइरहेका बेला त्यस समूहका एक नेताले आयोग केपी ओली पक्षलाइ मलजल गर्ने गरि अघि बढ्न लागेको बताएका छन् ।

विघटित प्रतिनिधिसभाका सदस्य तथा प्रचण्ड माधव पक्षधर नेकपा केन्द्रीय सदस्य झपट रावलले निर्वाचन आयोगमाथि कार्यपालिकाको नांगो हस्तक्षेप भएको र आयोगले बहुमत केन्द्रीय सदस्य रहेको पक्षलाई चुनाव चिह्न नदिने खेलमा लागेको दावी गरेका छन् ।

रावलले आज विहान फेसबुक स्टाटसमा लेखेका छन्, ‘कार्यपालिकाको नाङ्गो हस्तक्षेपको कारण निर्वाचन आयोगले पार्टीको वैधानिकता,चुनाव चिन्ह तथा झण्डा बहुमत प्राप्त केन्द्रीय कमिटी भएको समूहलाई नदिने र अर्को समूहको निरंकुशतालाई मलजल गर्ने गरि निर्वाचन आयोग अगाडि बढ्ने देखिएको छ ।’

रावलले निर्वाचन आयोगलाई सरकारको मतियारको रुपमा प्रयोग नहुन आग्रह समेत गरेका छन् । आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिन खोजेको भन्दै यसअघि प्रचण्ड र माधवकुमार नेपालले समेत सार्वजनिक रुपमै आशंका जनाइसकेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *