हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ताप्लेजुङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।

लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए ।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए ।

हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिए ।

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँगाउँमै स्वास्थ्य सेवाको पहुँच बढाउँदै लकेको छ । समुदायले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्यचौकीमा आवश्यक उपकरण जोड्दै गएको हो ।

गत सातादेखि फक्ताङलुङ–५ तापेथोकमा पहिलोपटक प्रयोगशाला, गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थालाई बुझ्नका लागि भिडियो एक्सरे सेवा शुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए ।

मान्छेको संवेदनशील अङ्ग मुटुको स्वास्थ्य अवस्थाको परीक्षण गर्नका लागि इसिजी सेवा गत हप्तादेखि शुरु भएको उनले बताए। जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपापलिकामै दिन लागेको गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *