चीनले पनि दिने भयो अनुदानमा खोप, ३ लाख डोज खोप नेपाललाई दिने निर्णय

काठमाडौं। चीनले पनि नेपाललाई आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार छिटै नेपाललाई अनुदानमा खोप दिइनेछ । संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले उल्लेख गरेको छ।

चीनले दिएको खोप १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ। चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो।

यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ।

अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जनाएको छ।

भारतले अनुदानमा दिएको खोप नेपालमा यसअघि नै लगाउन थालिइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *