ललिता निवासको जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको संकेत (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको बहुचर्चित ललिता निवासको करीव १५७ रोपनी जमिनमा शहीद स्मारक बनाउने संकेत गरेका छन् ।

शहीद दिवसको अवसरमा लैनचौरको शहीद स्मारकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो संकेत दिएका हुन् ।

प्रधानमन्त्रीले हालको शहीद स्मारक साह्रै सानो भएको र विदेशी पाहुना आउँदा श्रद्धाञ्‍जली दिन पनि अप्ठेरो तथा सर्वसाधारणलाई पनि एकैपटक आउन नमिल्ने भएकाले फराकिलो ठाउँमा शहीद स्मारक बनाउने बताए ।

प्रधानमन्त्रीले भने, ‘स्मारकका लागि यो ठाउँ साह्रै सानो भयो । त्यसकारण तुरुन्तै एउटा विदेशी पाहुनाहरु आउँदा पनि सजिलोसँग गएर श्रद्धाञ्जली अर्पण गर्न सकिने गरी प्रशस्त पार्किङ पनि भएको ठाउँ, हुनसक्छ प्रधानमन्त्री निवास नजिकैको बालुवाटारकै जमिन होस् वा यस्तै जो अलि फराकिलो छ त्यहाँ शहीद स्मारक बनाउँछौं ।’

प्रधानमन्त्रीले त्यस्तो स्मारक एक वर्षभित्रै बनाउन सकिने बताए ।

ओली प्रधानमन्त्री भएपछि सो सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणको छानविन गरी सरकारको नाममा फिर्ता ल्याएका थिए । हाल सो जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन पदाधिकारी र व्यक्तिहरुमाथि विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *