३ महिनाभित्र सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

कोभिडविरुद्धको खोप अभियानको भर्चुअल उद्घाटन गर्दै ओलीले अब कोभिडको त्रास कम भएर जाने विश्वास पनि व्यक्त गरे ।

‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ,’ ओलीले भने, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’

खोप अभियान प्रारम्भ भए पनि कोभिडविरुद्ध अपनाइएको मापदण्डहरुलाई जारी राख्नुपर्ने प्रधानमन्त्रीले बताए । मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ लगायतका कुराहरुमा पूर्ववत ध्यान दिन उनले देशवासीलाई सुझाव दिए ।

उनले भने, ‘हामी खोपमा मात्रै भर पर्ने होइन । यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ । हामीले कोभिडविरुद्धको लडाईमा अपनाएका अरु पक्षहरुमा किञ्चित लापरवाही गर्नुहुन्न । अहिलेका मापदण्डहरुलाई जारी राख्नुपर्छ ।’

कोभिडविरुद्धको खोप आइसकेपछि अब कोभिड अस्पताल निर्माणमा पहिलेजस्तो जोड दिनु नपर्ने प्रधानमन्त्रीले बताए । ‘अब कोभिड १९ अब त्यसैगरी फैलिइरहन सक्दैन । हामी सरसफाइ, खानपिन, मास्कमा सजक भएका छौं । त्यसैले आज मान्छे हिजोभन्दा बढि सतर्क छन् । त्यसैले अब कोभिड अस्पतालमा धेरै ध्यान दिइराख्नु पर्दैन,’ उनले थपे, ‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो । जसले पनि कोभिडै बोकेर हिँडेको छ कि जस्तो भान हुन्थ्यो । अब कसैलाई छ भने पनि केही छैन । सामाजिक दुरी कायम राख्नु, पर्यो मास्क लगाउनु पर्‍यो, खोप लगाउनुपर्‍याे ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *