देशभर एकैसाथ कोरोना खोप अभियान आजदेखि

काठमाडाैं । आज देशभर कोरोना विरुद्धको खोप अभियान आरम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअल रुपमा कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्दैछन् ।

प्रधानमन्त्री ओलीले राजधानी काठमाडौं उपत्यकाका ११ अस्पतालमा सुरु हुने खोप अभियानको अनलाइनमार्फत प्रत्यक्ष अवलोकन गर्नेछन् । स्वास्थ्य मन्त्रालयको कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार उपत्यकाका ११ अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाएपछि बिहान ११ बजेदेखि देशैभरका अस्पतालबाट खोप कार्यक्रम सुरु गरिनेछ ।

कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिमा कुनै प्रकारको असर देखिएमा सरकारले निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर अधिकारीले बाताए । ‘साइड इफेक्ट’ देखिए निःशुल्क उपचार गर्ने भने पनि कोराेना विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै भवितव्य परिआए आफैं जिम्मेवार रहेको भनी मञ्जुरीनामामा हस्ताक्षर भने गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खोपका कारण मानिसको मृत्यु भएमा त्यसको क्षतिपूर्ति सरकारले दिँदैन । कोरोनाको खोप महामारी नियन्त्रणका लागि आपतकालीन प्रयोग गर्नुपर्ने नयाँ खोप भएकाले खोप उत्पादक कम्पनीहरूले ‘साइड इफेक्ट’ देखिएमा त्यसको क्षतिपूर्ति नतिर्ने जनाएको छन्। तर नेपालमा भारत सरकारले दिएको एस्ट्राजेन्का अक्स्फोर्डको खोप सुरक्षित रहेको वश्विास चिकित्सकहरुको छ ।

‘खोपले ०.१ प्रतिशत ‘साइड इफेक्ट’ गर्न सक्ने सम्भावना सबै अवस्थामा रहन्छ । अहिलेको लागि कोरोना महामारीबाट बच्ने सबैभन्दा ठूलो हतियार नै खोप हो । त्यसैले हामी उत्साही छौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले भने ।

कोभिशिल्ड खोपले कोरोनाबाट कसरी बचाउँछ ?

नेपालमा लगाउन लागिएको कोभिशिल्ड खोप कमजोर पारिएको भाइरस हो यसले सङ्क्रमण गर्दैन । खोपको माध्यमबाट यो भाइरस हाम्रो शरीरमा गएपछि रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ। जसले एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्न सक्षम हुन्छन् ।

एक मानिसलाई यो खोपको दुई मात्रा दिनुपर्ने कम्पनीले जनाएको छ । पहिलो डोज लगाएको चारदेखि १२ साताको फरकमा दोस्रो डोज दिनुपर्छ ।

नेपालमा १ महिनापछि दोस्रो दोज दिने तयारी गरिसकेर खोप अभियान आरम्भ गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *