माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

काठमाडौं । दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित स्वागत गरे ।

गत शनिबार दश सदस्यीय नेपाली पर्वतारोही टोलीले हिउँद याममा पाकिस्तानस्थित २८,२५१ फिट उग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो ।नेपाल आइपुग्दा आरोही टोली निकै उत्साहित देखिएको थियो । टोलीको नेतृत्व गरेका निर्मल पूर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको बताए ।

‘हामीले ज्यानको बाजी लगाएर केटु चढ्यौं’ उनले भने, ‘निकै खुशी महसुस भएको छ ।’ शेर्पा समुदायको विश्वले प्रशंसा गरेको भन्दै उनले जलवायु परिवर्तन र कोरोनाले थलिएको पर्यटनलाई आफूहरुको माउन्ट केटू विजयले सन्देश दिने बताए ।पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले अब यो टोलीले आठ हजार मिटर उचाइका नेपाली शिखर महामारीपछि खुला भएको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले थलिएको पर्यटनलाई उकास्ने काममा सरकार सधैं साथमा हुने बताए ।

‘देशका लागि यो एउटा जित थियो’ अर्का आरोही मिङ्मा जी शेर्पाले भने । निर्मल र मिङ्मासहित मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जिन शेर्पा र किलु पेम्बा शेर्पाले हिमाल आरहेण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *